क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित




फागुन २६ पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ ।

पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ ।

तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरदचन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् । ‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उनले भने ।

भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उनले बताए ।
सहजकर्ता शरदचन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गरे । उनले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् । भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उनको छ । उनले समय समयमा भाषाका विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिएकी छिन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको भनाई उनको छ ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिएकी छिन् । उनले भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराइन् । गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उनको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उनले आग्रह गरेकी छिन् ।

तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताए । जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उनको छ । पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उनी विश्वस्त देखिन्छन् । तालिममा ५५ जनाको सहभागिता छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।