रिबन र कार्डको अभावमा स्मार्ट कार्डको सट्टा दिईदै आएको अस्थायी कार्ड वितरण अनियमित


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित




पोखरा । सवारी चालक अनुमती पत्र (लाईसेन्स) बनेर आउन ढिलाई हुँदा सेवाग्राही हैरान थिए । स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाईसेन्स आउन कहिले एक वर्ष त कहिले त्यो भन्दापनि बढी समय लाग्ने भएपछि कास्कीमा परीक्षणकालीन सवारी चालक अनुमति पत्र वितरण गर्न शुरु गरिएको थियो ।

जसको उद्देश्य थियो, स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाउने वित्तिकै १० मिनेटमा नै अस्थायी कार्ड प्राप्त गरुन् । यसले लाईसेन्स प्राप्त गरेका सेवाग्राहीलाई आफूले लाईसेन्स प्राप्त गरेको अनुभूति गराओस् र सवारी चलाउँदा चोक÷चोकमा हुने चेकिङमा समस्या नहोस् ।

गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीले यो सेवा शुरु गरेसँगै सेवाग्राही खुशी थिए । तर पछिल्लो समय यो अनियमित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कहिले लाईसेन्स छाप्ने कार्ड त कहिले रिबन, टोनर नहुँदा अनि कहिले मेसिन बिग्रिदा परीक्षणकालीन कार्ड वितरण अनियमित हुने गरेको छ । जसको प्रत्यक्ष असर सेवाग्राहीमा पर्दा अस्थायी रुपमा वितरण हुने परीक्षण कालीन लाईसेन्स नलिई फर्किन बाध्य हुनेगरेका छन् ।

हुँदाहुँदा पछिल्लो एक हप्तादेखि त परीक्षणकालीन लाईसेन्स कार्ड वितरण ठप्प भएको छ । यसले गर्दा सबै प्रक्रिया पूरा गरेर लाईसेन्स पाउने आशामा कार्यालय पुगेका सेवाग्राही लाईसेन्स नपाएपछि चित्त दुःखाउँदै फर्किने गरेका छन् । लाईसेन्स पाउने आशामा उनीहरु दिनदिनै कार्यालय धाउँछन् तर कार्यालयका कर्मचारीले लाईसेन्स प्रिन्टमा समस्या भएकाले राजश्व तिरेको कागजले काम चलाउन आग्रह गर्दै फर्काउने गरेका छन् ।

प्रिन्टरको सामान मन्त्रालयबाट नआउँदा सेवाग्राहीलाई सेवा दिन नसकिएको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीका अधिकृत तुलसी पौडेलले बताए । ‘हामीले प्रिन्टिङ गर्नेमात्र हो, मन्त्रालयबाटै सामान नआएकाले अहिले परीक्षण लाईसेन्स कार्ड दिन सकेका छैनौं’–उनले भने । उनका अनुसार मन्त्रालयले एक हप्तादेखि रिबन र कार्ड नदिएकाले परीक्षण लाईसेन्स कार्ड वितरण रोकिएको हो ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, कास्कीका निमित्त प्रमुख शंकर थापाले मन्त्रालयसँग समन्वय गरेर पुनः परीक्षण लाईसेन्स कार्ड वितरण गर्ने प्रयास भइरहेको बताए । ‘सायद चाँडै वितरण कार्य शुरु हुन्छ’–उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले मन्त्रालयबाट रिबन र कार्ड आईतबार नै पठाईसकिएको जिकीर गरे । ‘हामीले सामान पठाईसकेका छौं । भोलिदेखि नै कार्ड वितरण शुरु हुन्छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।