हेम्जामा हुने आलु महोत्सवलाई युवाले सघाउने प्रतिबद्धता


     एभरेस्ट आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित




Exif_JPEG_420

चैत ६ पोखरा । यही चैतको अन्तिम साता पोखराको हेमजामा हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका यूवाहरुले सघाउने भएका छन् । यही चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेको हुन् ।

महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने बताए ।

कार्यक्रममा हेमजा युनाइटेडका अध्यक्ष राजेस त्रिपाठी, युवा रेडक्रस सरकल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक अभिभावक संघका अध्यक्ष मादेब अधिकारी लगायतले बोलेका थिए ।

भेलाले आलु महोत्सवमा हेमजा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ । सो अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, युवा परिचालन उप समिति संयोजक अमित तिमिल्सिना, लगायतले सहजीकरण गरेका थिए ।

९ दिनसम्म सञ्चालन हुने महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।