पोखरा, चैत ७
पोखरा महानगरपालिका वडा नम्बर–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको भन्दै स्थानिय आन्दोलित बनेका छन् । उनले स्थानियको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पाइएपछि स्थानिय विगत एक हप्तादेखि आन्दोलनमा रहेका हुन् ।

२०७४ सालमा शुरु भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्ड मादी गाउँपालिकाको भैंसेहुँदै पोखरा–१३ को काहुँखोला, बाँझापाटन, पोखरा–१२ को शितलादेवी, पोखरा–११ को फलबारी, पोखरा–२० को भलाम, ¥यालेचौर, पोखरा–१६ को मातृशिशु अस्पताल, बाटुलेचौर वडा कार्यालय, अमलाबिसौनीहुँदै जौबारी जोड्ने निर्णय भएको थियो । तर पछि पोखराको सहरी क्षेत्र मिसाउँदा विरोध हुने तथा मुआब्जासमेत धेरै तिर्नुपर्ने देखिएपछि सो लोकमार्ग भैंसेबाट पोखरा–२० को मौजा–आँटीघर, वडा नम्बर–१६ को अर्मलाकोट–कालीखोला–अमला बिसाउनीहुँदै याम्दी जाड्नेगरी पुनःरेखाङ्कन गर्ने कुरा उठ्यो । त्यसपछि पोखरा–१६ का तत्कालीन वडाध्यक्ष आचार्यले स्थानिय र वडाको तर्फबाट सो रेखाङ्कनका लागि आफूहरुको सहमति रहेको भन्दै पत्र लेखे । सो पत्रमा भनिएको छ,‘यस खण्डको रेखाङ्कन परिवर्तन गरी महानगरको उत्तरी क्षेत्र अन्तर्गत पोखरा–२० को मौजा–आँटीघर, वडा नम्बर–१६ को अर्मलाकोट–कालीखोला–अमला बिसाउनीहुँदै याम्दी जोडिनेगरी निर्माण गरेमा महानगरपालिकाको उत्तरी र कास्की जिल्लाको पहाडी ऐतिहासिक, पर्यटकीय गाउँबस्तीहरु प्रत्यक्ष लाभान्वित हुने र सडकको प्रतिफलमा बढोत्तरी हुने देखिन्छ । साथै हाल यो क्षेत्रमा जग्गा प्राप्त गर्न तथा घर टहरा हटाउन मुआब्जा तथा क्षेतिपूर्ति नेपाल सरकारले उपलब्ध गराउन नपर्नेगरी सहमति दिन सकिने व्यहोरा जानकारी गराईन्छ ।’
वडाको सहमतिलाई टेकेर तत्कालीन पोखरा महानगरपालिकाको बोर्ड बैठकलेपनि सोहि व्यहोराको निर्णयसहित सहमति पत्र मध्यपहाडी लोकमार्ग सडक योजना कार्यालयलाई लेखेको पाइएको छ ।

सो सडकखण्ड पोखरा–१६ मा प्रवेश गराएर लैजान स्थानियको सहमति रहेको पत्र वडा र महानगरले लेखेपनि यथार्थमा भने त्यस्तो सहमति स्थानियले दिएको देखिएको छैन । बरु वडा र महानगरले स्थानियसँग छलफल गरेर सहमति लिनुको सट्टा स्थानियलाई गुमराहमा राखेर आफूखुशी पत्र लेखेको स्थानियको आरोप छ । त्यतिमात्र होईन अहिले लैजाने भनिएको सडक खण्डले चमेरेगुफालगायतका संवेदनशील क्षेत्रलाईसमेत खलबलाउने देखिएको छ । जबकी चमेरेगुफाको मापदण्ड ५० मिटर भएपनि त्यो भन्दा नजिकबाट सडक बनाउन रेखाङ्कन गर्नपनि सहमति दिइएको छ । यसले गुफाको अस्तित्व नै संकटमा पर्नसक्ने चमेरेगुफा टोल विकास संस्थाका अध्यक्ष पुष्पराज अधिकारी बताउँछन् ।
मध्यपहाडी लोकमार्ग बनेको खण्डमा सो क्षेत्रका करीब ३ सय घर परिवार प्रभावित हुने दाबी गरिएको छ । बाटो निर्माण नहुञ्जेल कहाँबाट रेखाङ्कन भएको हो र त्यसको मापदण्ड कति हो भन्ने मेसो नपाएका स्थानिय मध्यपहाडी लोकमार्गको सो खण्ड निर्माण गर्नका लागि भन्दै टेण्डर आह्वान भएपछि झस्किए । पहिले ८ मिटरको बाटो बन्ने भनेर सुनेका स्थानियले अहिले ३० मिटरको मापदण्ड भनेर आयोजनाले सार्वजनिक सूचना निकालेपछि संघर्ष समिति नै बनाएर आन्दोलनमा होमिएका छन् । उनीहरु एक सातादेखि १० बजेदेखि १२ बजेसम्म दैनिक दुई घण्टा वडा कार्यालय पोखरा–१६ अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् । बुधबारदेखि भने पूर्वाह्न १० बजेदेखि दिउँसो १ः३० बजेसम्म दैनिक साढे तीन घण्टा धर्ना दिईने संघर्ष समितिका संयोजक गोविन्दबहादुर बस्नेतले जानकारी दिए ।
धर्नामा स्थानिय पीडितसँगै पूर्व जनप्रतिनिधि विष्णु नेपालीपनि सहभागि छिन् । उनी स्थानियको सहमति छ भनेर पत्र लेख्ने तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यकै कार्यकालका वडा सदस्य हुन् । आचार्यले स्थानियसँग मात्र नभई जनप्रतिनिधिलाईपनि थाहा नदिई पत्र लेख्दा आफूहरु आन्दोलनमा आउनुपरेको नेपालीले बताईन् । आफ्नै पार्टीका तत्कालीन वडाध्यक्षले गरेको बदमासीबिरुद्धको आन्दोलनमा रहेकी उनले भनिन्,‘विकास भन्दा बिनास बोकेर आएपछि विरोधमा उत्रिएकी हुँ । बस्ती उठाउनेगरी बाटो निर्माण गर्न सहमति दिनु आचार्यको गल्ती हो, यसलाई सच्याईनुपर्छ ।’
संघर्ष समितिका संयोजक गोविन्दबहादुर बस्नेतले स्थानियलाई सुकुम्बासी बनाउनेगरी निर्माण गरिन लागेकाले आफूहरु बाध्य भएर आन्दोलनमा होमिएको बताए । ‘हामीलाई मुआब्जा चाहिंदैन, हामी कुनै हालतमा हामीलाई उठीबास लगाएर बनाउन लागिएको बाटो निर्माण गर्न दिदैनौं’–उनले भने । बस्ती छिराएर नभई ग्रामिण क्षेत्रहुँदै जाने अर्को वैकल्पिक उपायको खोजी गर्नुपर्ने उनको भनाई छ ।
स्थानिय बलराम तिमिल्सिनापनि तत्कालीन वडाध्यक्ष आचार्यको बदमासीका कारण आफूहरु सडकमा आएको बताउँछन् । भन्छन्,‘अन्य विकल्पको खोजी नगरी बस्ती बस्तीमा मध्यपहाडी लोकमार्ग छिराउने सहमति तत्कालीन वडाध्यक्ष आचार्यले कसरी दिन सक्छन् ? कुनै एक व्यक्तिको सनकमा जनतालाई उठीवास लगाउन लागेपछि हामी आन्दोलनमा आएका हौं ।’
स्थानिय अनिल बस्नेतले जनता मार्नेगरी सडक ल्याउन दिइएको सहमति फिर्ता हुनुपर्ने बताए । घर, बारी र धानखेतसमेत गरेर तीन ठाउँमा आफ्नो जग्गालाई बाटोले छुने भन्दै उनले भने,‘त्यसरी त हामी सुकुम्बासी हुने भयौं । हामीलाई सुकुम्बासी बनाउने बाटो हामीलाई चाहिंदैन । हामी कुनैपनि हालतमा बनाउन दिदैनौं ।’
पोखरा–१६ का वर्तमान वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिनापनि तत्कालीन वडाध्यक्ष आचार्यले स्थानियसँग छलफल नगरी बाटो निर्माण गर्न सहमति दिनु गल्ती भएको बताउँछन् । यसमा पुनरावलोकन हुनुपर्ने बताउँदै उनी भन्छन्,‘यसका लागि मैले प्रयास गरिरहेको छु । सायद एक, दुई दिनमा सर्वदलीय बैठक बस्ला ।’ आफूहरुले भन्दैमा तत्काल निर्णय नबदलिने भन्दै उनले अब सबैको सहमति र महानगरको सिफारिसमा संघ सरकारको मन्त्री परिषद बैठकले मात्र निकास दिन सक्ने बताए ।
सहमति पत्र लेख्ने पोखरा–१६ का तत्कालीन वडाध्यक्ष आचार्य भने मध्यपहाडी लोकमार्गको मापदण्ड बढाउँदा स्थानिय संघर्षमा उत्रिएको बताउँछन् । त्यसबेला ८ मिटरको बाटो भनेकाले सहमति दिएको हुँ, उनले भने,‘तर अहिले आयोजनाले ३० मिटर मापदण्ड भनेर सूचना निकालेपछि स्थानिय झस्किएर आन्दोलनमा आएका हुन् ।’ आयोजनाले भनेअनुसार ३० मिटर मापदण्ड लागु गर्न आफूपनि सहमत नभएको उनको भनाई छ । स्थानियको मागमा मेरोपनि ऐक्यबद्धता छ, उनले भने,‘अहिले सबै मैले नै गरेजस्तो लागेको छ स्थानियलाई तर यसको जिम्मा आयोजनाले लिनुपर्छ ।’ उनले तत्कालीन समयमा सैद्धान्तिक सहमति वडाले दिने नियमानुसार आफूलेपनि सिफारिस पत्र लेखेको जिकीर गरे । ‘यो आयोजनाले कहिंपनि मुआब्जा नदिदोरहेछ । घर, टहरा भए क्षेतिपूर्ति मात्र दिने भनेकाले सिफारिस पत्रमा मुआब्जाको कुरा उल्लेख नगरिएको हो, यसलाई अहिले अन्यथा बुझिँदैछ त्यो गलत हो’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







