लकडाउन, निषेधाज्ञा र शिल नगर्न पोखरेलीको माग, पिसीआरसमेत बन्द गर्न आग्रह


     सन्देश श्रेष्ठ    
     असाेज ५ गते २०७७ मा प्रकाशित





पोखरामा लकडाउन, निषेधाज्ञा र शिल गर्ने कार्य बन्द माग गर्दै प्रदर्शन भएको छ । ६ महिनादेखिको लकडाउन, निषेधाज्ञा र शिलले जनजीवन कष्टकर भएको भन्दै फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराको आयोजनामा विहीबार विहान पोखराको चिप्लेढुंगामा प्रदर्शन भएको हो । ‘लकडाउन हटाऔं, जनजीवन समान्य बनाऔं’ भन्दै गरिएको प्रदर्शनमा उद्योगी, ब्यापारी, शिक्षा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

रोगका कारण भन्दापनि भोकका कारण मर्ने दिन आउन लागेको भन्दै उनीहरुले अब करीब ६ महिना लामो लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य रोक्न माग गरे । साथै उनीहरुले बन्द उद्योग, कलकारखाना, बजार, शैक्षिक संस्था, चलचित्र हल, जिम, ब्यूटी पार्लर, होटल, रेष्टुरेण्ट, ब्यूटीपार्लर, शैलुनलगायतका सम्पूर्ण क्षेत्र खुल्ला माग गरेका छन् ।

प्रदर्शनकारीहरुले पिसीआर परिक्षण बन्द गर्नपनि माग गरेका छन् । कोरोना पत्ता लगाउन गरिने पिसीआर जाँच भरपर्दो र विश्वासिलो नभएको भन्दै सो पिसीआर जाँच तत्काल बन्द गर्न माग गरे । पिसीआर जाँच अथन्टिक भएन, फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराका संयोजक राजु कायस्थले भने,‘एउटै व्यक्तिको रिपोर्ट कहिले पोजिटिभ त कहिले नेगेटिभ देखाउने पिसीआर जाँच कुनै भरपर्दो भएन, यो जाँच तत्काल बन्द गर्नुपर्छ ।’ प्रदर्शनकारीहरुले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)ले जारी गरेको कोरोना सम्बन्धि प्रोटोकलसमेत उलंघन गर्न अपिल गरेको छ । उनीहरुले सामाजिक दुरी, मास्कलगायतका कार्य अनिवार्य गर्न आवश्यक नरहेकाले डब्लु.एच.ओ.ले भनेका यी प्रोटोकल मान्नै पर्ने बाध्यता हटाउन सरकारसँग माग गरे ।

कोरोनाको प्रभाव भन्दा बढी प्रचार भएको भन्दै फाईट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट पोखराले यस्ता प्रचार रोक्न सरकार र सञ्चार माध्यमलाई आग्रह गरेको छ । कोरोनालाई आवश्यक्ता भन्दा बढी हाउगुजी बनाइयो,‘संयोजक कायस्थले भने,‘रोग, रोग भन्दा भन्दै भोकले मर्ने दिन आउने बेला भयो, अब रोगसँग लड्दै भोक मेटाउन लाग्नुपर्छ ।’

संयोजक कायस्थले बन्द रहेका उद्योग, कलकारखानादेखि शैक्षिक संस्थालगायत नखोल्ने हो भने अर्थतन्त्र धरासयी हुने चेतावनी दिए । त्यसैले बेलैमा खोलेर अर्थतन्त्र जोगाउनुपर्ने उनको भनाई छ । साथै कोरोनाका कारण आम मानिसमा मनो सामाजिक समस्या ब्यापक रुपमा कढिरहेको भन्दै यसको निराकरणका निम्तिपनि लकडाउन, निषेधाज्ञा, शिललगायतका कार्य तत्काल बन्द गर्नुपर्ने संयोजक कायस्थले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।