बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित




तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गरेका हुन् । बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ ।

आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिए । आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उनको भनाइ छ ।

दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताए। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताए ।

आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिए । प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ । उक्त कार्यका लागि रु ८५ लाख तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि रु १२ करोड १५ लाख विनीयोजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।