लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीको राजीनामा


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित




दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

“पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछौँ”, उनले भने ।

साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन् । उनले आफूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको र नयाँ बन्ने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वमा सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी विना विभागीय मन्त्रीको रुपमा सहभागी भएका थिए ।

त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्रका संसदीय दलका नेता जोगबहादुर महरा आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित नौ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।