आज चैते दशैँ मनाईंदै : गण्डकी प्रदेशमा सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०७९ मा प्रकाशित




आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ ।

वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।