कास्कीमा जनप्रतिनिधिले गरे जातिय विभेद : दलितले छोएको भन्दै भतेरको भाँडो नै घोप्टयाए


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०७९ मा प्रकाशित




पोखरा, चैत १८

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारको दुई छोराहरु साहिल र समीरको ब्रतबन्ध थियो । मध्यम वर्गिय परिवारका परियारले ब्रतबन्धमा आफन्तसँगै छरछिमेक तथा जनप्रतिनिधिहरुलाईसमेत बोलाए । ब्रतबन्धको निम्तो मान्न पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारपनि पुगेका थिए ।

ब्रतबन्ध राम्रैसँग चलिरहेको थियो । त्यत्तिकैमा नारायणपनि ब्रतबन्ध गरेका दुबै छोरालाई टीका लगाउनुका साथै दान दक्षिणा दिएर भतेर तिर लागे । भतेर खान अगाडि बढेका उनलाई भान्सामा खटिएकी सीता लामिछानेले तिमी के थरी हो ? भनेर प्रश्न गरे । नारायणले आफू परियार भएको मात्रै के भनेका थिए उनले जवाफ फर्काईहाले,‘तिमीहरुका लागि यहाँ होईन, अर्को छुट्टै भान्छा छ’–भनेर जातिय विभेद गरेको आरोप लगोको छ । सामाजिक चेतना भएका नारायणलाई सहभोज गर्नबाट रोकेपछि उनलाई जातिय विभेद भएको महशुष भयो र आफूमाथि अन्याय भएको महशुष भएपछि त्यसको प्रतिवाद गरेको पीडित नारायण दमाई परियारले बताएका छन् ।

सहभोज गर्नबाट रोकेपछि उनले ‘मैले यहाँ खाए के हुन्छ र ? भनेर जिज्ञासा राखेको उनको भनाई छ । त्यसपछि तिनै भान्से सीताले ‘यो त बाहुन भान्सा हो । यहाँ ब्राह्मण क्षेत्रीले मात्र खाने हो । यो भान्सामा हाम्रा बुबाआमाहरु हुनुहुन्छ । तिमीहरुले छोएको खानु हुँदैन’ भनेर जातिय विभेद गरेको नारायणको आरोप छ ।

आफूमाथि जातिय विभेद भएपछि नारायणले त्यसको प्रतिकार गर्ने प्रयास गरेको बताए । उनले भने,‘अहिलेको जमानामा पनि यस्तो कुरा गर्ने ? भनेर प्रतिवाद गरेको उनको भनाई छ । त्यतिञ्जेल मौन बसेका माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेले ‘तिमी दलितहरु ठूला पल्टिन थालेछौ । हाम्रो भान्छा जूठो भयो भन्दै ब्राह्मण भान्सामा पाकेका दाल, भात, तरकारी, असार सबै भुईंमा घोप्टाएको नारायणले दाबी गरेका छन् ।

लगत्तै स्थानिय सुजन लामिछानेले ‘तिमी दमाईहरु किन बाहुन भान्सामा ? हाम्रो भान्सा विटुलो भयो’ भन्दै अपमान गरेपछि आफू त्यहाँबाट भान्सासमेत नगरी फर्किएको उनको भनाई छ ।

नारायणलाई घटना त्यत्तिमै सामसुम होला भन्ने लागेको थियो । दिउँसोको अपमानले रन्थनिएर घर आएर आराम गरेर बसेका उनलाई जब ब्रतबन्धमा निम्तो गर्ने सन्तोष परियारले फोन गरेर ‘तिमीले भान्सामा गएर छोईदिएकाले सबै पाकेको खानाहरु फाल्नु प¥यो । मेरो एक लाख पचास हजार खेर गयो । तिमीले मेरो पाहुना बाहुन क्षेत्रीको अपमान गरेर धर्म, संस्कार लत्याउँदा मेरो ब्रतबन्ध कार्य नै विफल बनायौ त्यसैले अब तिमीलाई हाम्रो कुल कुटुम्बबाट निकाल्छौं’भनेर धम्की दिएपछि आफू थप मर्माहत भएको उनले गुनासो गरेका छन् । त्यतिमात्र होईन पीडक सन्तोषले आफूलाई कुल मन्दिर प्रवेशमा रोक लगाउने चेतावनीपनि दिएको उनले बताए ।

पीडित नारायणले आफूलाई पीडक सन्तोषले ब्रतबन्धमा दिएको उपहार फिर्ता लैजान धम्की दिनुका साथै ब्रतबन्धमा बनाएको भोजभतेर छोईछिटो गरिदिनाले सोको खर्च आफूलाई बेहोर्नका लागि दवाब दिएको बताएका छन् ।

घटनापछि विक्षिप्त बनेका नारायणले आफूमाथि जातिय विभेद गर्ने जनप्रतिनिधि रामजी लामिछाने, सीता लामिछाने, छुट्टै भान्सा बनाउनुपर्छ भनेर दवाब दिने सन्दीप परियार, जातिय विभेद हुँदापनि उल्टै पीडितलाई क्षेतिपूर्ति माग्ने र कुल खान्दानबाट अलग गर्ने सन्तोष परियारलगायतबिरुद्ध किटानी जाहेरी दिएका छन् ।

लगत्तै कास्की प्रहरीले पीडक भनिएका सन्तोष परियार र सुजन लामिछानेलाई पक्राउ गरेको छ । अर्का पीडक जनप्रतिनिधि रामजी लामिछाने र सीता लामिछाने भने फरार रहेको बताइएको छ । कास्की प्रहरीले भने खोजी भईरहेको बताएको छ ।

यसैबीच, मुक्ति समाज कास्की, नेपाल दलित संघ कास्की, नेपाल दलित मुक्ति मोर्चा कास्की, नेपाल दलित मुक्ति संगठन कास्की, दलित महिला संघ (फेडो) कास्की, विश्वकर्मा समाज कास्की, मिजार समाज कास्की, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ती जारी गरेर जातिय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् । उनीहरुले पीडकलाई तत्काल कारवाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिलपनि गरेका छन् ।

त्यस्तै, ईन्सेक गण्डकीलेपनि जाति विभेद गर्नेलाई कारवाही गर्न गरेको मागप्रति ऐक्यबद्धता रहेको बताएको छ । ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले २१ औं शताब्दीको संघारमा पनि जातिय विभेद हुनु विडम्बनापूर्ण भएको बताउँदै पीडितको मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।