ज्येष्ठ नागरिक सेवागृह श्रद्दा सदन प्रा.लि.अब च्यारिटी अन्तरगत चलाइने


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा १५ टुटुंगामा ज्येष्ठ नागरिक सेवागृहको रुपमा सेवा पुर्‍याइरहेको श्रद्धा सदन प्रालिले अब च्यारिटीमार्फत सेवालाई निरन्तरता दिने भएको छ ।
कम्पनी अन्तर्गतको अतिथि गृहमा अहिले २ जना ज्येष्ठ नागरिकले दिवा र ६ जनाले आवासीय सेवा लिइरहेको अध्यक्ष निरज थापाले जानकारी दिए । संस्थालाई नाफामूलकभन्दा पनि सेवामूलक रुपमा अगाडि बढाउने सोच अनुरुप श्रद्धा केन्द्रको रुपमा अगाडि बढाउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । यसका लागि आफूहरु सहयोगी हातहरुको प्रतीक्षामा रहेको उनले जानकारी दिए । थापाले संस्थाका लागि सक्दो सहयोग गर्न उनले इच्छुक सबैसँग आग्रह गरे ।
यही विषयमा छलफल गर्न मंगलबार केन्द्रमा एक अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो । संस्थाको तर्फबाट कार्यक्रममा बोल्दै उर्मिला श्रेष्ठले उक्त कम्पनी कुनै वृद्धाश्रम नभई सेवागृह भएको बताइन् । संस्थाले १६ महिनाको अवधिमा ११ जना ज्येष्ठ नागरिकलाई सेवा पुर्‍याइसकेको जानकारी पनि उनले दिइन् । अब भने यो संस्थालाई सहयोगी हातहरुमार्फत अगाडि बढाउन लागिएको उनले स्पष्ट पारिन् ।
संस्थाले सेवा शुल्कको रुपमा न्युनतम २५ हजार रुपैयाँ मासिक लिने गरेको जानकारी दिंदै उनले चाहेर पनि घरमा वृद्धवृद्धाको सेवा गर्ने समय नमिलेमा केन्द्रको सेवा लिन सकिने बताइन् । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का सदस्य आशिष भण्डारीले संस्थाको गतिबिधि प्रति सन्तोष ब्यक्त गर्दै आगामि दिनमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । नेपाल सरकारका पूर्व सह सचिब तथा कृषि बिज्ञ बेनिबहादुर बस्नेतले संस्थाले प्रदान गरेको सेवालाई आफूले नजिकबाट अवलोकन गरेको र त्यसक्रममा आफू सन्तुष्ट रहेको बताए ।
वन क्याम्पस पोखराका क्याम्पस प्रमुख बिनोद हैजुले रु १० हजार नगद सहयोग प्रदान गर्दै संस्थाको आवश्यकता माथि जोड दिएका थिए ।
एस ओ एस बालग्रामका पूर्ब निर्देशक रमेश ताम्राकारले पनि संस्थालाई निरन्तरता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । संस्थाका विशेष सल्लाहकार महेश गुरुङले कार्यक्रममा स्वागत गर्दै च्यारिटीको आवश्यकता माथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण निमा गुरुड.र सरिता ताम्राकारले गरेका थिए ।
ज्येष्ठ नागरिकको सम्मानजनक जीवनका लागि गुणस्तरीय सेवा भन्ने मूल मन्त्रका साथ संस्था अगाडि बढाइएको हो । संस्थाले अबदेखि घरघरमा गई डे केयर सेवा पनि प्रदान गर्ने जनाएको छ । नर्सिङ सेवा, स्वास्थ्योपचार सम्बन्धी समन्वय, स्वस्थ खाना प्रदान जस्ता सेवा समेत संस्थाले दिंदै आएको छ ।
संस्थाको परिसरमा वृद्धहरुका लागि उपयुक्त वातावरणको सिर्जना, उनीहरुको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र आध्यात्मिक हितका लागि सहयोग र उच्च सम्मानका साथ वृद्धवृद्धाको स्वतन्त्रता र स्वास्थ्यसम्बन्धी सेवा समेत संस्थाले दिने गरेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।