पोखरा, चैत २६
पोखराको हेमजामा आलु महोत्सव शुरु भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ शुरु भएको हो । बैशाख ३ गतेसम्म चल्ने महोत्सवको आईतबार गण्डकी प्रदेशका कृषि मन्त्री बेदबहादुर गुरुङ (श्याम)ले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री गुरुङले आलु गाउँको रुपमा परिचित हेमजाले आफ्नो पहिचान जोगाईराख्न आलु उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्र र कृषि उत्पादन दुबै घट्दै गएकाले त्यसलाई घट्न नदिन सबै लाग्नुपर्ने बताए । ‘कृषि योग्य जमिनको उपयोगमा सबैले ध्यान दिऔं । त्यसो भयो भनेमात्र उत्पादन बढ्छ’–उनले भने । उनले हेमजामा उत्पादित आलुको बजारीकरणसहित त्यसको ढुवानी र भण्डारण गर्नका लागि कोल्डस्टोर निर्माणमा प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले हेमजाले आलु उत्पादनसँगै यसको भण्डारण र बजारीकरणमा ध्यान दिनुपर्ने बताए ।
कृषि मन्त्रालयका सचिव डा.सहदेव पौडेलले हेमजामा आलुको उत्पादन घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कृषकलाई आलु उत्पादनप्रति आकर्षित गर्नका लागि सरकारको तर्फबाट कार्यक्रम ल्याउने आस्वासन दिए ।
कृषि विकास निर्देशनालयका बासुदेव रेग्मी, पोखरा–२५ हेमजाका वडाध्यक्ष मोतीराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले आलुबाटै हेमजामा कृषि क्रान्ति सम्भव भएपनि यसका लागि राज्यले ध्यान नपु¥याउँदा सोंचेजस्तो फाईदा स्थानियले लिन नसकेको बताए ।

महोत्सव उद्घाटन अघि सांस्कृतिक झाँकीसहितको प्रभातफेरी निकालिएको थियो । पोखरा–२५ हेमजा मिलनचोकबाट शुरु भएको प्रभातफेरी महोत्सव स्थलमा आएर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
महोत्सवको अवसरमा आलुको पहाड बनाइएको छ । आलु गाउँको रुपमा परिचित हेमजामा महोत्सवको अवसरमा ३५ टनको आलुको पहाड बनाएर प्रदर्शनीमा राखिएको छ । महोत्सवमा आउने ग्राहकले आलुको पहाडबाटै आफूलाई आवश्यक पर्ने आलु खरिद गरेर लैजानसक्ने क्लवका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
आलु महोत्सवमा विभिन्न आलुका परिकारकोपनि दर्शकले स्वाद लिन सक्नेछन् । आलु पारखीका लागि करीब २५ थरिका परिकार बनाएर स्वाद चखाईने क्लवका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
यसका अलावा महोत्सवमा ताजा तरकारीको बृहत प्रदर्शन, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम आयोजना गरिने महासचिव श्रेष्ठले जानकारी दिए ।
महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा प्रदान गर्नेलगायतका उद्देश्य रहेको क्लवले जनाएको छ ।
आलु महोत्सव अवलोकनका लागि साधारण प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकट दर कायम गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







