पोखरा, चैत २७
पोखरामा मंगलबार जनवादी गायक÷गायीका गुञ्जिदैछन् । राष्ट्रको लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुती अन्तर्गत पोखरामा भोलि जनवादी गीतहरु प्रस्तुत गर्न लागिएको हो । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार दिउँसो १ बजेदेखि जनवादी गायक÷गायीकाहरुले जनवादी गीत प्रस्तुत गर्ने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देशव्यापी अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रममा ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’लगायतका चर्चित गीतका बरिष्ठ जनगायक जीवन शर्मालगायतले प्रस्तुती दिने जनाइएको छ । करीब साढे दुई घण्टाको कार्यक्रममा जनवादी गायक, गीतकार तथा संगीतकार माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरन सी, कर्ण विद्रोहीले प्रस्तुती राख्ने जनाइएको छ । त्यस्तै, जनवादी गायक तथा संगीतकारहरु निलिमा पुन, नारायण शर्मा, मोहित श्रेष्ठ, उदय रिजाल, रेश्मी बुढामगर, डम्बर भण्डारी, काजीबाबु श्रेष्ठ, विकाश लुंगेली, नारायण दंगाललगायतकोपनि प्रस्तुती रहने जनवादी कलाकार चिरन सीले जानकारी दिए । कार्यक्रममा जनवादी नृत्यकार सन्ध्या मगर, आकृति भण्डारी, कविता पुनलगायतको नृत्य, लक्ष्मण पाख्रिन, अनु शर्मा, लक्ष्मी केसीलगायतको गायन प्रस्तुतीसमेत रहने उनले बताए ।
पत्रकार भेटघाटमा बोल्दै बरिष्ठ जनवादी गायक जीवन शर्माले निराश जनतालाई आशाको सञ्चार गराउन जनसांगीतिक अभियात्रा कार्यक्रम देशव्यापी अभियानका रुपमा लिएर हिंडेको बताए । ‘देश संकटमा पर्दा हामी चुप लागेर बस्नु हुँदैन । त्यसैले आशाको सञ्चार गराउन अभियात्रा अभियान लिएर हिंडेका हौं’–उनले भने । छाडा, अश्लिल र अराजकता बढ्दै गयो भने देश कहाँ पुग्छ ? भन्ने प्रश्न गर्दै उनले अगाडि थपे,‘आर्थिक संकटले देश कतै श्रीलंका हुने हो कि भन्ने चिन्ता छ । विखण्डनतिर देश गइरहेको छ, त्यसप्रति सचेत गराउनुपनि अभियानको उद्देश्य हो ।’
बरिष्ठ जनवादी गायक शर्माले नकारात्मक र अश्लिल गीतअरु भाईरल भईरहेकोप्रति चिन्ता व्यक्त गरे । गाली ग¥यो, भद्दा बोल्यो भने भाईरल हुन्छ,उनले भने,‘तर राष्ट्रको गीत गाउने, क्रान्तिको विगुल फुक्ने, जनताको मर्म भन्नेहरुको आवाजचाहिं दबिनु राम्रो होईन ।’ उनले जनवादी कलाकारहरुले पुरानै गीत भजाएर खाईरहेको भन्ने आरोपप्रति भने असहमति जनाए । भने,‘हामीले पनि नया गीतहरु गाइरहेका छौं । हामीलेपनि मेला, महोत्सवमा प्रस्तुत गर्ने खालका गीतहरु ल्याईरहेका छौं तर हाम्रा गीतहरुलाई भन्दा भाईरलको पछि दौडिदा हामी छायाँमा परेका मात्र हौं ।’
बरिष्ठ जनवादी गायक शर्माले देश र जनताका लागि लडेकाहरुले उनीहरुको वास्तविक पीडालाई सम्बोधन नगरेकोमा आक्रोस पोखे । उनले आवश्यक परे ती कम्युनिष्ट नेताबिरुद्ध जनवादी गीत, संगीतमार्फत धावा बोल्न पछि नपर्ने उनको प्रष्टोक्ती थियो ।
जनवादी गायक, गीतकार तथा संगीतकार चिरन सीले राष्ट्रको लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुती कुनैपनि पार्टीलक्षित अभियान नभएको स्पष्ट पारे । अभियान समाजमा रहेका विकृति, विसंगतिबिरुद्ध लक्षित रहेको उनको भनाई थियो । ‘हरेक क्रान्तिमा जनवादी कलाकारको योगदान छ । नेतालाई नपत्याउँदा हामी कलाकारले आह्वान गरेर क्रान्ति र आन्दोलन अघि बढायौं । त्यहि क्रान्ति र आन्दोलनमा होमिदा कयौं सहीद भए । कयौं घाईते, अपाङ्ग भए, कयौंबिरुद्ध झूठा मुद्धा लाग्यो तर आज समानता र न्याय स्थापित हुन सकेन । त्यसैले न्याय र समानताको पक्षमा आवाज उठाउनपनि हामीले अभियान सञ्चालन गरेका हौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







