पोखरा, चैत २८
पोखरामा साढे चार महिनादेखि जारी बाह्र भैरव नाच प्रदर्शन समापन भएको छ । भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच साढे चार महिनामा ७२ ठाउँमा प्रदर्शन गरे पश्चात सोमबार राती समापन भएको हो । गत मंसिर १५ गते भिमसेन मन्दिरमा नचाएर शुरु भएको भैरवनाच प्रदर्शन सोमबार भिमसेन मन्दिरमा नचाएर पुनः भैरव मन्दिरमा शान्ति नाच नचाएपछि सम्पन्न गरिएको भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिए । सोमबार विहान ८ बजेदेखि शुरु भएको नाच मंगलबार विहान चार बजेसम्म नचाइएको उनले बताए ।
साढे महिनामा कुल ७२ ठाउँमध्ये १० वटा मन्दिरसमेत समावेश छ । उनका अनुसार भिमसेन मन्दिर, गणेश मन्दिर गणेशटोल, सरस्वती मन्दिर, विन्ध्यवासिनी मन्दिर र गणेश मन्दिर भैरवटोलमा प्रदर्शन गरेर शुरु गरिएको भैरव नाचको प्रदर्शन पुनः तिनै मन्दिरहरुमा नचाएर समापन गरिएको हो । त्यसबाहेक व्यक्तिको घर र टोल तथा संस्थाको आह्वानमा गरेर ६० ठाउँमा प्रदर्शन गरियो भने भैरव नाचका गुरुङको सम्मानमापनि नाच नचाइएको संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए । यस वर्ष पोखराको मुख्य सहरी क्षेत्रबाहेक हेमजा, पार्दी विरौटा, कुँडहर, रामबजार, लामाचौर, बाटुलेचौरलगायतका क्षेत्रमा पनि भैरवनाच प्रदर्शन गरिएको थियो ।
देव, देवी मन्दिरहरुमा प्रदर्शन सकिएपछि टोल तथा व्यक्तिको घरमा नृत्य प्रदर्शन गरिएको थियो । टोल तथा व्यक्तिका घरमा प्रदर्शन गर्नका लागि टोल तथा व्यक्तिले आमन्त्रण गर्नुपर्ने प्रावधान रहेको छ । त्यसका लागि नाम टिपाउनुका साथै नृत्य प्रदर्शन गर्नका लागि न्यूनतम शुल्क तिर्नुपर्ने नियम छ । टोल तथा समूहले आमन्त्रण गर्दा ५० हजार तथा व्यक्तिले आमन्त्रण गर्दा न्यूनतम ३५ हजार शुल्क तिर्नुपर्ने संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गले जानकारी दिए ।
यस वर्ष भैरव नाच प्रदर्शनबाट करीब १ करोड ७५ लाख रुपैयाँ संकलन भएको समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिए ।
६/६ वर्षमा प्रदर्शन गरिने भैरव नाच अब २०८४ सालमा प्रदर्शन गरिने जनाइएको छ । ५ वर्ष पूरा भई ६ वर्ष प्रवेश गरेलगत्तै नाच प्रदर्शन गर्नुपर्ने नियमानुसार २०८४ सालमा नाच प्रदर्शन गर्ने तय भएको संस्कृतिकर्मी प्रधानाङ्गले बताए ।
हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुले भय र दण्डका देवताको रुपमा भैरवको पुजा गर्ने गरेका छन् । तन्त्रोक्त विधिवाट पुजा गरिने भैरवका विभिन्न रूप रहेका छन् भने भैरवको पुजनवाट भय हरण हुनुका साथै दुःख कष्ट निवारण हुने जन विश्वास रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए ।
भैरव नाच खासमा भक्तपुरबाट शुरु भएको हो । पोखरामा भने २५० वर्षअघि बिबिध कारण भक्तपुरबाट बसाईं सरी पोखरा आएका नेवार समुदायले भित्राएको बताईन्छ । शुरुमा १२/१२ वर्षमा प्रदर्शन गरिने भैरव नाच २०२९ सालदेखि भने ६/६ वर्षको अन्तरालमा प्रदर्शन हुँदै आएको छ
भैरव नाचमा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगाजू, गणेश, दागिनी, भूःच्चा र कवाङको रुप धारणगरी शास्त्रीय भजनमा नृत्य गरिन्छ । यो नृत्य नेवारी भाषाका भजन र अनरतीको गायनमा आधारित भएर कौशिक, छयानट, मालवा, सारंगा, तोडी, मालश्री लगायतको रागहरु तथा खरजति, एक ताल र दोमा तालमा आधारित नर्तकहरूले नृत्य गर्ने गर्दछन् । मृदङ्गा(खि) झ्याली, ताः, धा, सहनाइ, मुहालीको वादनका माध्यमबाट संगीत सिर्जना गरिने यस नृत्यमा सामान्यतथा १२ नर्तक, ३० गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयम् सेवक तथा अन्य व्यवस्थापनका लागि २० जना गरि १०६ जना सहभागि हुने गर्दछन् ।
पोखरामा भैरव नाच लामो समय वरिष्ठ संस्कृतिकर्मी स्व.सर्वज्ञमान प्रधानाङ्ग र त्यसपछि स्व. कृष्णबहादुर वैद्यले गुरुको भूमिका निर्वाह गर्दै आएका थिए भने यस वर्षदेखि कृष्णदेव प्रधानाङ्गले प्रमुख गुरु र मेघवहादुर ताम्राकारले उपगुरुको रुपमा नृत्य प्रशिक्षण गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







