सरकारले परिणामुखी काम गर्नुपर्छ : महामन्त्री थापा


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणामुखी काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणामुखी काम गर्नुपर्ने बताए । “वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन्न मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो/यो काम ग¥यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ”, उनले भने । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने बताए । उनले सङ्घीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गरे ।

‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

विसं २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ । सोही अवसरमा महामन्त्री थापाले शिक्षक पेशामा रहेर विभिन्न योगदान दिएका शिक्षकलाई सम्मान गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।