शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा शिक्षक सम्मान


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित




जुना थापा, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठनले ४४ औँ शिक्षक दिवस तथा २१ औँ जिल्ला परिषद्को अवसरमा कास्कीका शिक्षकहरुलाई सम्मान गरेको छ ।

संगठनले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष,उत्कृष्ट प्रधानाध्यापक ,उत्कृष्ट शिक्षक, मावि र निमावि तहमा द्धितीय र प्रथम श्रेणीमा बढुवा भएको शिक्षक, शिक्षा सेवा आयोग द्धारा लिइएको प्रावि तहमा उत्तीर्ण शिक्षक तथा संगठनको उन्ननयनका लागि आर्थिक सहयोग गरेका शिक्षकहरुलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री खगराज अधिकारीले शिक्षक दिवस तथा संगठनको जिल्ला परिषदको शुभकामना दिँदै समाजको शैक्षिक विकासको मेरुदण्ड भएकाले शिक्षामा परिवर्तन चाहने हो भने शिक्षक स्वयम् र शिक्षा परिवर्तन हुने बताए । मुख्यमन्त्री अधिकारीले संगठनको २०८० को क्यालेन्डर विमोचन गर्दै शिक्षकहरुले आन्दोलन नगरेसम्म आफ्नो हक अधिकार नपाएको इतिहास साक्षी रहेकाले शिक्षा ऐन ल्याउनमा पनि शिक्षकले सकरात्मक र प्रभावमूलक आन्दोलन गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्टिय समतिका सचिव रामप्रसाद पोख्रेलले समाजको सम्मानित पेसा शिक्षक भए पनि राज्यले शिक्षकलाई फरक चस्माले हेरेको बताउँदै अब त्यो नजरिया राज्यले परिवर्तन गर्नुपर्ने बताए ।

नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षकको हक अधिकार मात्र होइन कर्तव्य पूरा गर्न सिकाउने संगठन नेराशिसं भएको बताउँदै कर्तव्यपरायण शिक्षकहरुलाई संगठनले प्रोत्साहन स्वरुप शिक्षकहरुलाई सम्मान गरिएको बताए ।

कार्यक्रममा डा।चिन्तामणि योगीले सकरात्मक सोचसम्बन्धी उत्प्रेरणाको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेल, प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले कास्कीका अध्यक्ष मा। मन बहादुर गुरूङ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, पेशागत महासंघ राष्ट्रिय समितिका सचिव रामप्रसाद खनाल, राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष अग्रज शिक्षक नेता दीपक पौडेल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण प्रसाद सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्धरा पौडेलले स्वागत मन्तव्य सचिव तीर्थराज ढकालले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष यामनाथ सुवेदीले आर्थिक प्रतिवेदन , उपाध्यक्ष हर्क लामिछानेले धन्यवाद ज्ञापन र सञ्चालन द्धय सचिव ढकाल र सहसचिव जुना थापाले गरेका थिए ।

कार्यक्रममा माछापुच्छ्े मावि भुर्जुडखोलाका विद्यार्थी नृत्य, अनिता राई नेतृत्वको शिक्षक नृत्य तथा शिक्षक उमिता घमालले एकल नृत्य प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।