पोखरा । नयाँ वर्षको अवसरमा विन्ध्यावासिनी मन्दिर लगाए पोखराका अधिकांश मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा लगाए प्रदेश भित्रका विभिन्न जिल्लाका धार्मिक मन्दिरहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रहेको छ ।

मन्दिरमा अहिले पनि लाखौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि मन्दिर क्षेत्रमा जम्मा भएका छन् ।
नयाँ वर्षका अवसरमा विन्ध्यावासिनी मन्दिरसंगै गुप्तेश्वर,तालबाराही लगाएतका मन्दिरमा भक्तजनहरुले भरिभराउ छ । विसं २०८० को पहिलो दिन सार्वजनिक बिदा पनि भएकाले धेरै मानिस मठ मन्दिरमा भेला भएर दर्शन एवं पूजा, आराधना गरी नयाँ उमङ्गका साथ भेला भएको देखिन्छ । सडकमा विगतका दिनभन्दा कम सवारी साधन गुडेको देखिन्छ । सरकारी कार्यालयमा बिदा दिइएकाले पनि कम सवारी गुडेका हुन् ।


उता नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो ।
नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् ।
“हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्”, पौडेलले भ, “दिउँनेसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।”
हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए । “बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ”, उनले भने।
त्यसैगरि म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ ।
आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका तेज गुरुङले बताए । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटक बढेको उनले जानकारी दिए ।
चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिल क्षेत्रमा यस याममा बढी पर्यटक भित्रिएका छन् । पर्यटकका लागि अनुकूल मौसम भएको र जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ वर्षको अवसरमा भ्रमणमा आउनेको सङ्ख्या ह्वात्तै बढेका घोरेपानीका होटल व्यवसायी रनबहादुर पुनले जानकारी दिए ।
त्यसैगरि बागलुङको कालिका मन्दिरमा पनि भक्तजनहरुको भिड लागेको छ । भने नवलपरासी पुर्व,गोरखा,लम्जुङ,मनाङ तथा मुस्ताङका विभिन्न धार्मिक मन्दिरहरुमा पनि भक्तजनहरुको भिड लाग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल जारी रहेको खबर प्राप्त भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा र मकवानपुरको भीमफेदीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु…







