नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा छलफल हुन्छ : महामन्त्री थापा


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नीति अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल हुने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसले जेठभित्र नीति अधिवेशन गर्ने तयारी गरिरहेको बताउँदै उक्त अधिवेशनमा पार्टी सुदृढीकरण र शुद्धिकरणका बारेमा व्यापक छलफल हुने बताए ।

“विसं २०८० कांग्रेसलाई सुदृढीकरण र शुद्धीकरण गर्ने वर्ष हुनेछ, पार्टी सुदृढीकरण र शुद्धीकरणका बारेमा व्यापक छलफल गर्नुपर्छ”, उनले भने । उनले कांग्रेसभित्र पुरानो नेताको अनुभव र नयाँ युवाको जोसलाई कांग्रेसले अगाडि बढाउनुपर्ने बताए ।

महामन्त्री थापाले मुलुक सङ्कट परेको बेलामा सरकारले सुझबुझका साथ काम गर्नुपर्ने बताए । सरकारले जनतालाई महसुस दिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । उनले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जाने बताए ।

सरकारले राम्रो काम गर्दै गए तीन÷चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो । महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।