पोखरा महानगरपालिकाद्वारा शिक्षा सुधार तथा व्यवस्थापनकालागि १७ बुदे निर्देशन जारी (निर्देशनसहित)


     एभरेस्ट आवाज    
     वैशाख ३ गते २०८० मा प्रकाशित




वैशाख ३ पोखरा । पोखरा महानगरपालिका नगर कार्यपालिकाको आइतवार सम्पन्न १७ औ बैठकद्वारा शिक्षा सुधार तथा व्यवस्थापनका लागि १७ बुदे कार्यक्रम स्विकृत गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षा सुधार र व्यवस्थापनका लागि शिक्षा समिति , शिक्षा परिषदको सिफारिस तथा अन्य सम्बध्द निकायहरुको अन्तरक्रियाबाट प्राप्त सुझाबहरुलाई मध्यनजर गर्दै १७ बुदे कार्यक्रम स्विकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले सम्पुर्ण विद्यालय, अभिभावक तथा पोख्रेली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोगका लागि अनुरोध समेत गरेका छन् ।
महानगरद्वारा जारी निर्देशनहरू कार्यान्वयन नगरेमा नियमानुसार हुने कारवाही हुने समेत बताइएको छ ।

महानगरद्वारा जारी १७ बुँदे बिशेष निर्देशन :

१) विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकहरूमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्क बापत एक पटक मात्र अधिकतम २ महिनाको भन्दा बढी शुल्क लिन पाइने छैन ।

२) कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित कुनै पनि प्रकारको ब्रिज कोर्स सञ्चालन गर्न पाइने छैन ।

३) कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरूले कक्षा ११ मा सोही विद्यालयमा अध्ययन गर्न चाहेमा अनिवार्य रूपमा भर्ना लिई पठन पाठनमा सहभागी गराउनु पर्नेछ ।

४) महानगर स्थित सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने र शैक्षिक सत्र २०८० को नियमित पठन पाठन २०८०/०१।१० गते बाट सञ्चालन गर्नु पर्नेछ।

५) संस्थागत तथा सामुदायिक विद्यालयहरूले आफ्नो नजिकका विद्यालय बिच शैक्षिक गुणस्तर वृद्धि सम्बन्धमा आपसी सहकार्य सहित कम्तिमा १–१ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्नेछ ।

६) कुनै पनि शैक्षिक संस्थाले आफ्नो विद्यालय हाता भित्र पाठ्यपुस्तक, विद्यालय पोसाक तथा अन्य शैक्षिक सामाग्रीहरू बिक्री वितरण गर्न पाइने छैन अभिभावकले माग गरे आवश्यक सामाग्रीको नमुना उपलब्ध गराउनु पर्नेछ

७) स्कुल बसहरू विद्यालय सुरु हुन भन्दा १ः३० घण्टा अगाडि मात्र विद्यार्थी ल्याउनको लागि प्रयोग गर्नु पर्नेछ । २० वर्ष भन्दा पुराना सवारी साधनहरू प्रयोग नगर्ने, नियमित सर्भिसिङ्ग र मापदण्ड सरकारले तोकेबमोजिम हुनुपर्नेछ।

८) विद्यालय क्षेत्रको १०० मिटर वरपर सुर्तीजन्य तथा मदिराजन्य बस्तुहरू बिक्री वितरण गर्न पाइने छैन।

९) नयाँ विद्यालय तथा मन्टेश्वरीहरु दर्ता र अनुमति बिना सञ्चालन गर्न र सञ्चालनमा रहेका विद्यालय तथा मन्टेश्वरीहरुले अनुमति बिना कक्षा थप गर्न पाइने छैन ।

१०) सामुदायिक विद्यालयको विद्यालय विकास कार्यक्रमको सन्दर्भमा प्रस्ताव पेस गर्न उच्चस्तरिय समिति गठन गरिएको र सो समितिको प्रतिवेदन आगामी शैक्षिकशत्रबाट लागु गरिनेछ ।

११) विद्यालयहरुको वर्गिकरण तथा शुल्क निर्धारणका लागि विज्ञ समुह गठन भइ अध्ययन भैरहेको छ । सो समितिको प्रतिवेदन प्राप्त भएपछि नयाँ शैक्षिकशत्रबाट लागु गरिनेछ ।

१२) शिक्षकहरूको न्यूनतम पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम हुनुपर्नेछ । आउने शैक्षिक सत्र वाट विद्यार्थीहरूको खाजा का लागि रु २५ पुर्याउने तथा प्रधानाध्यापकको सेवा सुविधा प्राबि २००० आधारभुत तहको रु ३००० र माबिको प्र ।अ। सुबिधामा रु ५००० थप गर्ने निर्णय गरिएको छ।
१३) महानगर पालिका लाई ७ क्लस्टरमा बिभाजन गरि सबै सामुदायिक र निजि बिध्यालय लाई समन्वय तथा शैक्षिक गुणस्तर वृद्धि गर्न एजुकेसन काउन्सिलर नियुक्ति गर्ने
१४) सबै प्रधानाध्यपकले बिद्यालय सुधार एबँ बिकास को ४ बर्षे योजना बुझाउनु पर्ने र पहिलो बर्षको तेस्रो त्रयमासिक सम्ममा तय गरिएको परिणाम प्राप्त हुन नसकेमा आगामी शैक्षिक शत्र देखि ४ बर्षका लागि नया योजनाका साथ नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाईने छ।
१५) अत्यन्तै कम सँङ्ख्या भएका बिध्यालय हरु आबश्यकताको आधारमा मर्ज गर्ने, आबश्यक भएमा स्कुलबस ब्यबस्था गर्ने,
१६) स्थान र आबश्यकता हेरी मेघा स्कुलको अबधारणालाई मुर्त रुप दिन भौतिक तथा शैक्षिक ब्यबस्थापन गर्ने।

१७) हरेक महिना शिक्षा महाशाखा , काउन्सिलर र प्रधानध्यपकको पुनरावलोकन बैठक बस्नु पर्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।