सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०८० मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्रीप्रचण्डले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताए ।

उनले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको बताए । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महशुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री प्रचण्डले बताए । बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए ।

भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रुपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने बताए । दलित, आदिवासी जनजातिको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एशियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने प्रचण्डले विश्वास व्यक्त गरे । तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराई परिवर्तनका निम्ति परिचित भएकाले उनलाई जिताएपछि मन्त्री बनाउने प्रचण्डले घोषणा गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।