गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिदै


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०८० मा प्रकाशित




पोखरा, बैशाख ७

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका हुन् ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमापनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने भन्नेमा द्विविधामा थिए ।

माओवादीको समर्थन बिना मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ । सोहि कारण मुख्यमन्त्री अधिकारी विश्वासको मत नलिने बिचारमा थिए । तर अन्य प्रदेशमापनि संसदको सामना गर्दै विश्वासको मत लिने तयारी भएपछि गण्डकीमापनि विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री अधिकारी निकट श्रोतले बताएको छ । त्यसबाहेक गण्डकीका एमाले सांसदहरुलेपनि संसदको सामना गर्न सुझाव दिएपछि उनी विश्वासको मत लिने निश्कर्षमा पुगेको श्रोत बताउँछ । ‘शुरुमा मुख्यमन्त्री ज्यू विश्वासको मत लिने पक्षमा हुनुहुन्थेन । तर सांसदहरुको सुझाव र सबै प्रदेशमा विश्वासको मत लिने तयारीपछि उहाँपनि विश्वासको मत लिने तयारीमा जुट्नु भएको हो’–श्रोतले भन्यो ।

बैशाख ९ गते भित्रमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिईसक्नुपर्नेछ । माओवादीले गत चैत १० गते विश्वासको मत फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिईसक्नुपर्ने बाध्यता मुख्यमन्त्री अधिकारीलाई छ । नेपालको संविधान अनुसार विश्वासको मत फिर्ता लिएको १ महिनाभित्र बहालवाला मुख्यमन्त्रीले विश्वासको मत लिईसक्नुपर्ने हुन्छ । अन्यथा मुख्यमन्त्री स्वतः पदमुक्त हुने व्यवस्था छ ।

विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बैशाख ९ गते दिउँसो ३ बजे बोलाइएको छ । प्रदेश सभा सचिवालयलेपनि विश्वासको मत लिने मुख्यमन्त्रीको पत्रपछि प्रदेश सभा बैठकको कार्यसूचीमापनि राखिसकेको छ । प्रदेश सभा सचिव हरिप्रसाद पोखरेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्रीको पत्र आएपछि सोहि अनुसार सांसदहरुलाई खबर पठाईसकिएको जानकारी दिए । उनले भने,‘विश्वासको मत लिने २४ घण्टा अघि संसदमा जानकारी आउनुपर्ने हुन्छ । सो अनुसार मुख्यमन्त्रीको पत्र आएकाले हामीले सांसदहरुलाई खबर पठाईसकेका छौं ।’

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने छैन । माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सदस्यको मात्र विश्वासको मत दिने देखिएकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ ।

विश्वासको मत नपाउने देखेरै नेकपा एमालेले माओवादीलाई मुख्यमन्त्री लिन प्रस्ताव गरिसकेको छ । गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने देखेपछि एमालेले माओवादीका हरिबहादुर चुमानलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको हो । तर माओवादीले भने एमालेको प्रस्ताव अस्वीकार गरिसकेको छ । एमाले निकट श्रोत भन्छ,‘हामीले अनौपचारिक रुपमा माओवादीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थियौं तर उसले केन्द्रको समीकरण भत्किने गरी मुख्यमन्त्री लिन सक्दैनौं भनेर प्रस्ताव अस्वीकार गरिसकेको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।