पोखरा, बैशाख १३
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको असन्तुष्टीलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्ने चेतावनी दिएका छन् । तत्कालनी नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा वेपत्ता पारिएका कास्कीका पूर्ण पौडेलको ‘स्मरण तथा प्रतिष्ठान घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै डा.भट्टराईले जनतामा निराशा र असन्तुष्टी बढेकाले त्यसलाई सम्बोधन नगरे देश डरलाग्दो अराजकतामा फस्ने बताएका हुन् । देशमा चरम असन्तुष्टी छ,उनले भने,‘केहि समय यताका परिघटनाहरु हेर्नूस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टीहरु व्यक्त भईराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ असन्तुष्टी सुविचारित नभएको र यसको कता जाने हो भन्ने स्पष्ट धार नदेखिएको उनको भनाई छ । असन्तुष्टीलाई केहि होईन भनेर नजरअन्दाज गर्न नहुने भन्दै उनले भने,‘बेलैमा हामी कहाँ कहाँ सच्चिनुपर्छ सच्चिऔं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटो भन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गरौं ।’
जनयुद्धका कमाण्डरसमेत रहेका डा.भट्टराईले क्रान्तिकारी नेतालाई अहिलेको भीडले हत्यारा, आतंककारी र दलाल भनेर बदनाम गर्ने प्रयास गरिरहेको भन्दै असन्तुष्टी पोखे । युवा पुस्तामा क्रान्ति गर्नु अपराध हो भन्ने भ्रम सिर्जना गरिएको छ, उनले भने,‘क्रान्तिकारीलाई हत्यारा र आतंककारी, दलाल भनेर बदनाम गर्ने काम भइरहेको छ यो सहि होईन, अमेरिकन क्रान्तिका जर्ज वासिङ्टनलाई ठूलो नेता मान्छौं, रुसी क्रान्ति र चिनीया क्रान्तिकालाई महान नेता मान्छौं । भारत क्रान्तिकालाई नेता मान्छौं तर नेपालका क्रान्तिकारीहरुचाहिं हत्यारा हुन्छन् ? अन्य देशमा क्रान्ति गर्दा महान नेता हुने अनि हाम्रो देशमा क्रान्ति गर्नेचाहिं हत्यारा, दलाल र आतंककारी हुने ? यो हुनसक्दैन ।’ उनले ईतिहासलाई बंग्याएर असन्तुष्टी फैलाउँदा देशको हित नहुने भएकाले ईतिहासको सम्मान गर्न आग्रह गरे ।
डा.भट्टराईले सहिद, वेपत्ता तथा घाईतेको विषयक माओवादीको मात्र विषय नभएको बताए । उनीहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशीतालगायतका विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेहरुको समस्यापनि सबैको भएको उनको भनाई छ । उनले आफू प्रधानमन्त्रीहुँदा सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोग बनाएर सहिद, घाईते तथा वेपत्ताहरुको समस्या सम्बोधन गर्न खोजेपनि चलखेल, धमिलो पानीमा माछा मार्ने प्रवृत्ति र हलो अड्काएर गोरु चुट्ने प्रवृत्तिका कारण अहिलेसम्म टुंगिन नसकेको बताए । तर संक्रमणकालीन न्याय सम्बन्धी विवाद सम्बोधन गर्ने समझदारी भएको बताउँदै उनले भने,‘अब विधेयक पास गर्ने, आयोग बनाउने र त्यसले दुई वर्षभित्रमा सबै काम सक्नुपर्छ ।’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहिद, वेपत्ता तथा घाईतेहरुलाई न्याय दिनु राज्यको कर्तव्य भएको बताए । उनले देशमा एकाधिकारवादी दलाल पुँजीवाद हाबी भएकाले यसको अन्त्य बिना आर्थिक क्रान्ति सम्भव नहुने ठोकुवा गरे । नेपालमा राजनीतिक सामन्तवाद मात्र अन्त्य भएको हो,उनले भने,‘आर्थिक, सामाजिक सामन्तवाद बाँकी नै छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपाल युक्रेन बन्नसक्ने खतरा रहेको बताए । त्यसका संकेतहरु देखिन थालेको भन्दै उनले भने,‘यसले नेपाल नचाहेरपनि युक्रेन बन्ने खतरा छ ।’ विप्लवले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गरे । ‘पैसाबाट किनिएको भोट छ, पैसाबाट किनिएको नेता छ, पार्टी छ, महिना, दुई महिनामा सरकार परिवर्तन भईरहन्छ, अस्थिरता छ । यसो हुनुको कारण भनेको संसदीय असफलता हो’–उनले भने । उनले केहिले माओवादी असफल भयो भन्ने गरेकोप्रति प्रतिवादसमेत गरे । अहिले केहिले माओवादी असफल भयो भन्छन्,उनले भने,‘तर माओवादी असफल भएको होईन, संसदीय व्यवस्था असफल भएको हो । नत्र माओवादीलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिएर हेर्नूस् असफल हुन्छ कि सफल ।’ उनले संसदीय व्यवस्था असफल हुनुमा यसको चरित्र प्रगतिशिल नभएर भएको तर्क गरे । साथै उनले अब समाजवादमा जानुपर्ने तर कस्तो समाजवाद भन्ने बारेमा भने बहस हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले नेता कार्यकर्ताहरु सत्ताको स्वादले डगमगाउँदा सहिद, घाईते र वेपत्ता परिवारको सपना पूरा नभएको बताए । हिजोकोजस्तो त्याग, बलिदान र ईमान्दारिता नेता, कार्यकर्तामा नभएको बताउँदै उनले भने,‘हिजो मर्छु भन्ने जान्दाजान्दै तपाईं माओवादीहरु हतियार लिएर जाने तपाईंहरु नै होईन ? अनि पार्टीलाई बुझाउन बोरामा बोकेको पैसा एक रुपैयाँपनि नचलाई बुझाउने तपाईंहरु नै होईन ? तर आज कहाँ गयो त्यो ईमान्दारिता ? त्याग कहाँ गयो ? ।’
नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले सरकारमा आलोपालो बस्दैमा सहिद, घाईते तथा वेपत्ताको सपना पूरा नहुने बताए । उनले समाजवाद ल्याएर जनताको मुहारमा उज्यालो छर्न सकेमात्र उनीहरुको सपना पूरा हुने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







