सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डे । तस्विर सौजन्य : सुर्दशन रञ्जित
वैशाख १४ कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताएका छन् ।
प्रदेश प्रमुखबाट आज मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । मुख्यमन्त्री पाण्डेले भने, “अहिले जमिन बाँझा छन्, घर रित्ता छन्, धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवालाई सरकारको तर्फबाट सहयोग पुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर बन्ने गरी कृषिमा आधारित कार्यक्रम ल्याउँछौँ ।”
नवनियुक्त मुख्यमन्त्री पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताए । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।
उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा समेत सामेल गर्ने बताए । उनले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ । यही वैशाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । सुरुको पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
मुख्यमन्त्रीको शपथसँगै भोलि नै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







