शान्त माध्यमिक विद्यालयलाई ल्यापटप तथा स्टेशनरी हस्तान्तरण


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०८० मा प्रकाशित




मित्रराष्ट्र कोरियाबाट नेपाल भ्रमणमा आएका पर्यटकहरुद्वारा “एसिया सोलिडारिटी प्रोग्राम” अन्तरगत “शेयरिङ सोलिडारिटी होप, लभ पिसी इन नेपाल” कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका वडा नं. १८ भकुण्डेमा रहेको श्री शान्त माध्यमिक विद्यालयलाई ल्यापटप तथा स्टेशनरी हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्काको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा वडा शिक्षा समितिका सदस्य तथा जनप्रतिनिधि कल्पना ढकालले विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूको उपयोगले सिकाई कार्य सहज हुनेमा विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा दाताहरूको तर्फबाट टिम लिडर ह्वाङ वोन रेले संसारको अग्लो हिमाल तथा भगवान गौतमबुद्धको जन्मभुमि रहेको मित्र राष्ट्र नेपालको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न थोरै सहयोग गर्न पाएकोमा आफ्नो टिमलाई खुशी लागेको र आउने दिनहरूमा पनि सहकार्य गर्न तयार रहेको बताए । शिक्षामा प्रबिधिको उपयोगले सिङ्गो मुलुकलाई विकास गर्न सहज हुने बताए ।

युवा उद्यमी तथा पर्यटन व्यवसायी पुष्पराज तिमिल्सिनाले मित्रराष्ट्र कोरियाको “एसिया सोलिडारिटी प्रोग्राम” कार्यक्रमसँग समन्वय गरी विद्यालयको स्तर सुधारका लागि केही सहयोग जुटाउन पाएकोमा खुशी व्यक्त गर्दै आउने दिनहरूमा पनि विद्यालयलाई आवस्यक सहयोगको लागि निरन्तर लागिरहने बताए ।

शिक्षक सेवा आयोगबाट बढुवा भई हाल स्याङ्जामा पदस्थापना भएकी शिक्षक विमला भट्टराईलाई विदायी समेत गरिएको सोही कार्यक्रममा शिक्षक भट्टराईले आफ्नो शिक्षण पेसाको सुरूवात भएको विद्यालयमा प्राबिधिक रूपले विदायी भएपनि निरन्तर आफ्नो सहयोग रहिरहने वताउँदै विद्यालयलाई स्टेशनरी तथा ल्यापटप हस्तान्तरण कार्यमा समन्वय गर्न पाएकोमा सन्तोष व्यक्त गरिन् ।

शिक्षक तिर्थराज ढकालको सञ्चालनमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु थापाले स्वागत, शिक्षक कृष्ण प्रसाद दाहालले धन्यवाद तथा विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।