पूर्वेली पहिचानको आन्दोलनमा पोखरेली संघ संस्थाहरुको ऐक्यबद्धता


     एभरेस्ट आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित




पोखरा, बैशाख १८

पोखरेली संघसंस्थाहरुले पूर्वेली पहिचानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद, नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषद, नेपाल तामाङ घेदुङ कास्की, नेपाल कुमाल समाज सुधार कास्की, अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश, पूर्वेली एकता समाज कास्की, किराँत सेवा समाज कास्की, किराँत याक्थुङ चुम्लुङ कास्की र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर एक नम्बर प्रदेशमा चलिरहेको पुनः नामाङ्करणको मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।

एक नम्बर प्रदेशलाई कोशी प्रदेश घोषणा भएपछि त्यहाँ पुनः नामाङ्करणको माग राखेर आन्दोलन चलिरहेको छ । आन्दोलनको क्रममा पहिचान पक्षधर नेता लाजेहाङ (पदम लिम्वु)को मृत्यू भएपछि आन्दोलन झन्झन् चर्किदो छ । सोहि आन्दोलनप्रति ऐक्यबद्धता जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्मबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषदका अध्यक्ष मानेन्द्र कुमाल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त डुम्जङ तामाङ, नेपाल कुमाल समाज सुधार कास्कीका अध्यक्ष चेतबहादुर कुमाल, अखिल नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष बमबहादुर छन्त्याल, पूर्वेली एकता समाज कास्कीका अध्यक्ष गुणराज बास्तोला, किराँत सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राई, किराँत याक्थुङ चुम्लुङ कास्कीका अध्यक्ष धनबहादुर थेवे, किराँत सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य अटल राई, किराँत समाज कास्कीका निवर्तमान सचिव नवीन राई, किराँत भाषा लिपी संरक्षक तथा प्रशिक्षक दीनेश लिम्वु, लोकोत्तर अभियानका अभियन्ता एवम् नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले संयुक्त विज्ञप्ती जारी गर्दै पहिचानको आन्दोलनमा सरकारबाट भएको दमनको भत्र्सना गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै किराँत सेवा समाज कास्कीका अध्यक्ष दीपेन्द्र राईले प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखिएकोमा आफूहरुको विमती रहेको बताए । पहिचानको आन्दोलन राई, लिम्वु वा कुनै जाति विशेषको लडाईं नभएको बताउँदै उनले भने,‘यो आन्दोलन सम्पूर्ण पहिचान पक्षधरको हो । हिजो अधिकारको लडाईं लड्यौ अहिले पहिचानको फरक लडाई लडिरहेका छौं ।’ उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको आन्दोलनलाई जातियतासँग जोडेर खिसिट्यूरी गरेको भन्दै उनको अभिव्यक्तिको भत्र्सना गरे । ‘आफ्नो अस्तित्व जोगाउनका लागि पहिचानको आन्दोलनलाई स्वार्थ भाव राखेर होंच्याउने ओलीको अभिव्यक्तिको म भत्र्सना गर्दछु’–उनले भने ।

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्मबहादुर तमुले पहिचानको आन्दोलनप्रति आफूहरुको समर्थन र ऐक्यबद्धता रहेको बताए । उनले गण्डकीमा पनि पहिचानको आन्दोलन भएपनि परिणाम नआउँदा आफूहरु दुःखी भएको बताउँदै एक नम्बर प्रदेशमा भएको पहिचानको आन्दोलनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । आन्दोलनलाई आवश्यक परे गण्डकीबाट आर्थिक र भौतिक सहयोग रहने उनको भनाई छ ।

लोकोत्तर अभियानका अभियन्ता एवम् नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले किराँत पहिचान, सभ्यता र संस्कृति भएकाले उसलाई पहिचान दिन राज्यले कञ्जुस्याईं गर्न नहुने बताए । ‘राज्यले पहिचानको मुद्धा बुझेर सम्बोधन गरोस्’–उनले भने ।

किराँत भाषा लिपी संरक्षक तथा प्रशिक्षक दीनेश लिम्वुले मुक्ति आन्दोलनसँग जोडिएको पहिचानको आन्दोलन निश्कर्षमा पु¥याएरै छाड्नुपर्ने बताए । उनले राजनीतिक स्वार्थले विभाजित गर्ने र आन्दोलन तुहाउनसक्नेतर्फ सचेत रहेर आन्दोलनलाई तार्किक निश्कर्षमा पु¥याउनुपर्ने उनको भनाई थियो ।

किराँत सेवा समाज कास्कीका निवर्तमान अध्यक्ष लोकेन्द्र राईले राज्यले पहिचान र सभ्यताको संरक्षण गर्नुपर्नेमा उल्टै दमन गरिरहेको बताए । यसको बदला पहिचान पक्षधरले एक न एक दिन लिने उनले चेतावनी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।