पोखरा स्पोर्ट्स अवार्ड–२०७९ मा करण र सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी

- लाईफटाईम अचिभमेन्ट अवार्डबाट मर्सानी सम्मानित


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८० मा प्रकाशित




पोखरा २३ बैशाख

क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको सातौं संस्करणको पोखरा स्पोटर््स अवार्ड–२०७९ मा पुरुषतर्फ करण र महिलातर्फ सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

नेपाल क्रिकेट टिमका अलराउण्डर खेलाडी करणले उत्कृष्ट ३ मा परेका आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्कालाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जिते । लिग डिभिजन टु का खेलहरुमा उनले राम्रो प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्वालिफायर चरणमा पु¥याउनुका साथै ओडिआई मान्यता जोगाउन सफल बनाएका थिए । त्यस्तै एसिसी प्रिमियर लिग जिताउनपनि उनको महत्वपूर्ण योगदान थियो ।

त्यस्तै, नेपाल फुटबल टिमकी स्ट्राइकर सावित्राले आर्चरीकी रोजिना थापा मगर र तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन् । साम्बा उपनामले परिचित सावित्रा नेपाल टिमकी प्रमुख खेलाडी हुन् भने उनले भारतीय क्लवबाटपनि खेल्दै थुप्रै प्रतियोगिता जिताउन निर्णायक भूमिका खेलेकी छन् ।

सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) र सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधामा अवार्ड प्राप्त गरेका करण र सावित्राले ट्रफीसहित टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर एक÷एक थान प्राप्त गरे ।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटर सुवास भण्डारीले जिते । उनले भलिबलका रवि केसी र फुटबलका सुमित श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । १९ वर्षीय सुवास नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाइका अलराउन्डर हुन् । नेपाललाई यु–१९ विश्वकप छनोटमा पु¥याउन उनको महत्वपूर्ण योगदान थियो ।

सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा आर्चरीका किशोरकुमार गुरुङले अवार्ड जिते । उनले लनटेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनारलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबल संघले जित्यो । सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लवतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५÷३५ हजारसहित ट्रफी प्राप्त गरे ।

यसैबीच, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनाले प्राप्त गरे । समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुखका कार्यरत तिमिल्सिनाले वर्ष पत्रकारिता अवार्ड प्राप्त गरेका हुन् ।

यसअघि यो अवार्डबाट नागरिककर्मी सन्तोष पोखरेल र सन्देश श्रेष्ठ तथा विनोद लामिछाने, केशव पाठक र दीपक परियारले अवार्ड प्राप्त गरिसकेका छन् ।

मर्सानीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

मञ्चले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्ड बरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई अर्पण ग¥यो । आजिवन खेलकुदको क्षेत्रमा समर्पित व्यक्तिलाई प्रदान गरिदै आएको लाइफटाइम अचिभमेन्ट अवार्डबाट ३५ वर्षदेखि अनवरत रुपमा बक्सिङ प्रशिक्षणमा समर्पित मर्सानीलाई मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड अर्पण गरेको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

१५ वर्षदेखि बक्सिङ खेलमा आकर्षित मर्सानी २०४१ मा सम्पन्न नवौं बक्सिङ प्रतियोगिताका गोल्ड मेडलिष्ट हुन् । २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरेका मर्सानी नेपाली राष्ट्रिय बक्सिङ टीमका पूर्व प्रशिक्षकसमेत हुन् । बक्सिङ खेलाडी खोज्दै प्रशिक्षण गराउँदै हिंड्ने मर्सानीले नेपाल र गण्डकी प्रदेशमै बक्सिङ खेलको विकास र बिस्तारमा पु¥याएको योगदान अतुलनीय छ ।

निसीमलाई मरणोपरान्त कीर्तिशेष सम्मान

मञ्चले निसीम थापालाई मरणोपरान्त सम्मान गरेको छ । मञ्चले पोखरा स्पोर्ट्स अवार्डको अवसरमा स्वर्गिय प्याराग्लाईडिङ खेलाडी थापालाई मरणोपरान्त कीर्तिशेष सम्मान प्रदान गरेको हो ।

थापाको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ्ग प्रतियोगितामा प्रतिष्पर्धा गर्ने क्रममा दुर्घटनामा परेर गत असोज ३० गते निधन भएको थिया । थापाले प्याराग्लाईडिङ खेलमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

अवार्ड कार्यक्रममा स्ट्याण्डअप कमेडियन मेक्सम गौडेल, लोक दोहोरी गायक निश्चल दवाडी, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको विशेष प्रस्तुतीमा दर्शक झुमेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, पोखरा महानगर खेलकुद परिषदका अध्यक्ष दीपक गोदार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बराल, पूर्व अध्यक्षहरु रामकृष्ण ज्ञवाली, बिनोद लामिछाने, केशव पाठक, एकराज गिरी, पोखरा स्पोर्टस अवार्डका संस्थापक सन्देश श्रेष्ठलगायतले अवार्ड वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।