परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासमा मृत फेला


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–३१ बेगनासतालमा एक पुरुष मृत फेला परेका छन् । उदयपुर स्थायी घर भएका अन्दाजी ३१ वर्षका अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेका हुन् ।

मृतकलाई ताल बाहिर निकालेर चेकजाँच गर्दा उनले बोकेको परिचय पत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ ।

भण्डारी आईतबार राती काठमाडौंबाट जहाज चढेर पोखरा आएको बताइएको छ । पोखरा आएलगत्तै उनले आफू पोखरा आएको जानकारी मोवाईल म्यासेज (सन्देश) परिवारलाई पठाएको पाइएको छ । घरबाट हिंड्दा भने उनले परिवारलाई अफिस जानु छ भनेर निस्केको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेर मृत अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै गएको ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले शवको मुचुल्का तयार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ‘तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्म हत्या हो । वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौं–उनले भने ।

मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको र उनी अविवाहित रहेको बुझिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।