जनआन्दोलनका घाइते कायस्थको निधन


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित




काठमाण्डौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए त्यस दिनदखि उनीे अचेत थिए । कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन् । परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए । उनी २०७५ असारदेखि थप बिरामी परेका थिए ।

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उनको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।