कांग्रेस नेता बरालको पोखरा स्थित रामघाटमा अन्त्येष्टि


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०८० मा प्रकाशित




पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको आज पोखराको रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।

पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका उनको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएको थियो ।

बरालको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, महामन्त्री विषणुप्रसाद लामिछाने, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललगायतले सामूहिकरुपमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

बुबा दशरथ र आमा सेतुमायाबाट २०३१ साल पुसमा जन्मनुभएका उनका दुई श्रीमती नमीता र तुलसी, छोरा सन्देश, छोरीहरू ज्योति र स्मृति छन् । बरालको निधनमा दुःख व्यक्त गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शोक विज्ञप्ति जारी गरेको छ ।

महामन्त्री विष्णुप्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा पार्टीका कर्मठ, जुझारु एवम् सामाजिक व्यक्तित्व बरालको निधनले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना एवम् शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।