नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित




जेठ ७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व कीर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाइमा पुग्न सम्भव नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित राष्ट्रिय परिषद्को प्रथम बैठक एवं विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनयुद्ध र जनआन्दोलनमा महिलाको भूमिका प्रमुख रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिला एकताबद्ध हुनुपर्ने बताए । रासस

उनले देशमा ठूलो राजनीतिक परिवर्तनका वाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि २०६४ सालकै अवस्थामा पुग्न सक्ने स्पष्ट पारे । अहिले गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीका जनवर्गीय सङ्गठनहरूलाई जनता केन्द्रित भएर परिचालन गर्न र सोहीअनुसार नीति तथा कार्यक्रम अगाडि सारिएको बताए । उनले अब कामकाजी सङ्गठन बनाउने र सोहीअनुसारको पद विभाजनको प्रक्रियालाई आत्मसात् गरिने उल्लेख गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।