लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रीको घोषणा


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८० मा प्रकाशित




पोखरा, जेठ ११

गण्डकी प्रदेशकी उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गर्ने घोषणा गरेकी छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विहीबार पोखरामा आयोजना गरेको ‘नेपालमा उर्जा उत्पादनको सम्भावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश भित्र हुने लिफ्टिङ खानेपानीको विद्युत महशुल निःशुल्क गराउने घोषणा गरेकी हुन् ।

मन्त्री तिवारीले गण्डकी प्रदेशका ९९.५ प्रतिशत जनताले विद्युत तथा सोलार लाइट सेवाको उपभोग गरिरहेको उल्लेख गरिन् । गण्डकी प्रदेश, उज्यालो प्रदेश अभियानका कारण गण्डकीका अधिकांश क्षेत्रमा विद्युत वा त्यो नभएको ठाउँमा सोलार लाईट पुगेको उनको भनाई थियो । अब गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरीमा विद्युत सेवा पुग्न बाँकी रहेको उनले जानकारी दिईन् । पुरानो बिद्युत ऐनका कारण स्थानिय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन नसक्दा धेरै आयोजनाहरु प्रभावित भएकोपनि उनले उल्लेख गरिन् ।

मन्त्री तिवारीले प्रदेश सरकारको ‘गण्डकी प्रदेश, उज्यालो प्रदेश’, निःशुल्क लिफ्टिङ खानेपानीको विद्युत महशुललगायतका अभियानलाई निजी क्षेत्रलेपनि सघाउनुपर्ने बताईन् । ‘नीजि क्षेत्रले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी अभियान सफल बनाउन योगदान गर्नुपर्छ’–उनले भनिन् । उनले विद्युत ऐन संसोधन नहुँदा विद्युतको आन्तरिक बजार व्यबस्थापनदेखि उत्पादन भएको विद्युत बिक्री गर्नेलगायतका महत्वपूर्ण काममा बाधा पुग्नेगरेको बताईन् ।

इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालको पानी समृद्धिको खानी भएको बताए । उनले ग्याँसमुक्त क्षेत्र बनाएर विद्युत पर्यटनको सम्भावनालाई उजागर गर्न सकिने बताए । उनले भने,‘गण्डकीका कुनै एउटा पालिका वा वडालाई मात्रैपनि ग्याँसमुक्त क्षेत्र घोषणा गरेर विद्युत पर्यटनको सम्भावनालाई उजागर गर्न सकिन्छ । यसका लागि प्रदेश र स्थानिय सरकारसँगै सरोकारवालाहरुको ध्यानाकर्षण होस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।