घरभाडा आधा घटाउन घरधनीलाई सिटी रेवान पोखराको अपिल


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८० मा प्रकाशित




पोखरा, जेठ ११

पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् ।

आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएका छन्,उनले भने,‘त्यसैले व्यवसायी बचाउनका लागि घरभाडा आधा घटाऔं । यसो ग¥यौं भनेमात्र व्यवसायी बचाउन सकिन्छ ।’ उनले घरभाडा नघटाउने हो भने व्यवसायीहरुले व्यवसाय छाड्नुपर्ने स्थिति आउने चेतावनी दिए । व्यवसायी बचे न घरधनीले घरभाडा पाउने हो,उनले भने,‘नत्र घरभाडा तिर्नै नसक्ने भएपछि घर छाडेर पलायन हुनुको विकल्प छैन ।’

अध्यक्ष तिमिल्सिनाले पोखरा महानगर क्षेत्रका रेष्टुरेण्ट तथा बारहरुको अवस्था नाजुक रहेको बताए । कतिपय बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर त कतिपय घरभाडा तिर्न नसकेर व्यवसायी पलायन हुन थालेको उनको दाबी छ । उनका अनुसार हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेका छन् । झण्डै त्यति नै संख्यामा पलायन हुने स्थितिमा छन् । घरभाडा नघटाउने हो भने जेनतेन धानिएका ती रेष्टुरेण्ट तथा बारहरु असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुग्ने उनको चेतावनी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।