काठमाण्डौं । देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लूचल्ने सम्भावना रहेको बताए । “विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा तापक्रम ४० डिग्री हाराहारी छ, यसले गर्मी बढेको छ”, उनले भने ।
लू चल्नका लागि लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ ।
साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुःख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







