पोखरामा ‘प्राज्ञिक मूलधारमा आविस्कार र अनुसन्धान’ विषयक अन्र्तराष्ट्रिय सम्मेनल शुरु


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८० मा प्रकाशित




पोखरा, जेठ ३०

पोखरामा ‘प्राज्ञिक मूलधारमा आविस्कार र अनुसन्धान’ विषयक गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फिरेन्स शुरु भएको छ । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखराको जलमहल होटलमा शुरु भएको त्रिदिवसीय सम्मेलनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा रहेका विश्वविद्यालयहरुले शिक्षाका लागि विदेश जाने विद्यार्थी रोक्न सक्नुपर्ने बताए । उनले विद्यार्थीले नेपालमा किन पढ्न नचाहेको हो ? र किन सबै विद्यार्थी विदेश गएर पढ्न चाहेको हो ? भन्ने प्रश्न गरे । नेपालका विश्वविद्यालयमा विकृति र विसंगति छाउँदा विद्यार्थी शिक्षाका लागि विदेशिने गरेको बताउँदै उनले भने,‘यहाँका विश्वविद्यालयमा समयमा भर्ना आह्वान हुँदैन, अध्ययन अध्यापन हुँदैन, परीक्षापनि समयमा हुँदैन अनि रिजल्टपनि समयमा हुँदैन । जहाँ ज्ञान, सीप दिने हो त्यहिं यस्तो विकृति विसंगति भएपछि त्यस्ता विश्वविद्यालयले कस्तो विद्यार्थी उत्पादन गर्ने हो ? ।’ उनले विद्यार्थी संगठन राजनीतिक दलको स्वार्थपूर्ति गर्ने हतियारका रुपमा मात्र प्रयोग हुने गरेको र विद्यार्थी संगठनलेपनि बन्द, हड्ताल र तालाबन्दी गरेर अध्ययन अध्यापनमा बाधा पु¥याएको भन्दै त्यसलाई सुधार्न विश्वविद्यालयले वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले शिक्षामा नीजिकरण र व्यापारीकरण हुँदा समान शिक्षा लागु हुन नसकेको बताईन् । उनले विज्ञान र प्रविधिामा आधारित सीपमूलक शिक्षा अहिलेको आवश्यक्ता भएकाले त्यसतर्फ जोड दिन विश्वविद्यालयहरुलाई आग्रह गरिन् ।

आविष्कार केन्द्रका संस्थापक महाविर पुनले पोखरालाई १५ वर्ष भित्रमा सिलिकन भ्याली बनाईछाड्ने घोषणा गरे । पोखरालाई हैदराबाद, बैंग्लोर जत्तिकै अवस्थामा नपु¥याएपनि सोहि लेबलको सिलिकन भ्याली बनाउन आफूहरु लागेको उनको भनाई थियो ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, बोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष कैलाशनाथ प्याकुरेललगायतले विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि पढाईबाहेक अतिरिक्त क्रियाकलापलाईपनि उत्तिकै ध्यान दिदै आएको बताए ।

त्रिदिवसीय सम्मेलनमा नेपालसहित ७ देशका अनुसन्धानकर्ता, आविष्कारक प्राध्यापक, विद्यार्थीहरुको सहभागिता छ । जहाँ २० वटा सेसनमा ९१ वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलन आयोजक समितिका संयोजक डा.राजकुमार थापाले जानकारी दिए । उनका अनुसार डा.भगवान कोईरालाले स्वास्थ्य सम्बन्धी, युनिभर्सिटी अफ अक्सफोर्ड युकेका सौमित्र दत्तले व्यापार व्यवस्थापन सम्बन्धी, थाईल्याण्डका योथिन सवाङ्गीले स्वास्थ्य र वातावरण सम्बन्धी, जापानका योसी ओवायासीले दीगो स्वास्थ्य सम्बन्धी, नेपाल हेल्थ प्रोफेसनल काउन्सिका अध्यक्ष मोहनकृष्ण श्रेष्ठले स्वास्थ्यमा व्यवसायीकतामा नियमन सम्बन्धी, नर्वेका मार्टिन काईचले दीगो विकास सम्बन्धी, काठमाडौं विश्वविद्यालयका प्रा.डा.भुपेन्द्र विमल क्षेत्रीले ईञ्जिनियरिङ रिसर्च टेक्नोलोजी सम्बन्धी, डेनमार्कका एन्स एण्डर्सनले स्पोर्टस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा विदेशको क्यूनकुक नेसनल युनिभर्सिटीका विद्यार्थीहरु सहभागि छन् । विश्वविद्यालयको अध्ययन अध्यापनलाई गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफलसहित विद्यार्थीलाई एक्सपोजर दिनु सम्मेलनको उद्देश्य रहेको आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।