चरक हस्पिटल नागढुंगाको चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा चार सय बढी लाभान्वित


     एभरेस्ट आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित




पोखरा, जेठ ३०

पोखराको चरक मेमोरियल हस्पिटल नागढुंगा पोखराले आयोजना गरेको चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा ४ सय जना भन्दा बढी लाभान्वित भएका छन् । चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराले टाईगर ग्रुप आफ पोखरासँगको सहकार्यमा सर्वसाधारणका लागि आयोजना गरेको निःशुल्क मुटुरोग स्वास्थ्य शिविरमा ४ सय जना भन्दा बढीले मुटु परीक्षण तथा उपचार गरेका हुन् । जेठ २७ गते शनिबारदेखि शुरु भएर मंगलबार सम्पन्न शिविरमा प्रत्येक दिन मुटु परीक्षण गर्नेको भीड लागेको थियो । सो अवसरमा एक जनाको निःशुल्क मुटुको शल्यक्रियासमेत गरिएको अस्पतालका प्रशासन प्रमुख प्रदीप तिमिल्सिनाले एभरेस्ट आवाज डटकमलाई जानकारी दिए । उनका अनुसार उक्त विरामीको मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.एसके जयसवालसहितका चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेका थिए । विरामीको अवस्था अहिले सुधारोन्मुख रहेको उनले बताए ।

शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.एसके जयसवालसहितका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले मुटु जाँच तथा उपचार गरेका थिए । प्रशासन प्रमुख तिमिल्सिनाका अनुसार शिविरमा उच्च रक्तचापका र मुटुको धड्कन बढेका विरामीहरु, मुटुको बाथरोगीहरु, मुटुका रक्तनली र धमनी सम्बन्धी समस्या भएकाहरु, ह््रदयघात (हर्टअट्याक) भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका तथा बाईपास सर्जरीका विरामीहरु, मुटुको भल्भ सम्बन्धी रोगीहरु त्था भल्भ फेरेकाहरु, जन्मजात मुटुमा प्वाल परेका, मुटु कमजोर भएका, शरीर सुन्निने, हिंड्दा चक्कर लाग्ने, रिंगटा लाग्ने, छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने, पेस मेकर सम्बन्धीका विरामीहरु, कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्न पर्ने विरामीहरुको जाँच तथा उपचार गरिएको थियो ।

चरक अस्पतालमा मुटु परीक्षणसँगै मुटुका सम्पूर्ण उपचार गरिदै आएको छ । प्रशासन प्रमुख तिमिल्सिनाले चरकमा मुटुरोग सम्बन्धी सम्पूर्ण जाँचसहित उपचार तथा शल्यक्रियासमेत गरिदै आएको बताए ।

सो अवसरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटालाई चरक अस्पताल र टाइगर ग्रुप अफ पोखराको तर्फबाट दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।