जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्य राखिएको छ : अध्यक्ष यादव


     एभरेस्ट आवाज    
     असार ४ गते २०८० मा प्रकाशित




काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ आफूहरु साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरु लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिनु परेको बताए ।

संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा, पर्यटन लगायतका क्षेत्रको विकास गर्न साझा धारणाका साथ एक ठाउँमा उभिएको अध्यक्ष यादवको भनाइ छ ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित बनाउने देश कुन हो भनेर सोध्दा सबैले नेपाल भन्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष यादवले सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेर पठाएको विधेयक पूर्वराष्ट्रपतिले रोकेका कारण समस्या उत्पन्न भएको बताए ।

राष्ट्रिय पूँजीको विकास, वैदेशिक लगानी भित्र्याएर मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउने लक्ष्य मोर्चाले राखेको जानकारी दिँदै उनले वर्गीय, क्षेत्रीय एवं लैङ्गिक असमानताको अन्त्यका लागि साझा लक्ष्यका साथ मोर्चा बनाइएको स्पष्ट पारे ।

अध्यक्ष यादवले सबै दलका आ–आफ्ना राजनीतिक उद्देश्य रहे पनि साझा दृष्टिकोणका साथ एक ठाउँमा उभिएको र आगामी दिनमा यसलाई पूर्णरुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरे । उनले मोर्चालाई लिएर कोही कसैले पनि तर्सन जरुरी नरहेको र कोहीको विरुद्धमा पनि नभएको बताए । मुलुकको अग्रगमन, नेपाली जनताको हितका लागि परस्पर सहयोगका आधारमा अगाडि बढ्ने दृढता व्यक्त गर्दै अध्यक्ष यादवले प्रतिगमनका विरुद्ध साझा प्रतिवाद गरिने बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।