बझाङ जीप दुर्घटना : सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु, मृतकको संख्या ३ पुग्यो


     एभरेस्ट आवाज    
     असार ५ गते २०८० मा प्रकाशित




असार ५ बझाङ । बझाङको केदारस्यूँ गाउँपालिकामा सोमबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिए ।

योसँगै सो दर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि मन्त्री सिंहकी पत्नी अमृतादेवि र उनी भाउजु जानकी सिंहको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

गत वर्ष मंसिर ४ गते भएको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित भएका सिंह गत जेठ ५ गते सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।