फेवातालको अवैध संरचना महानगरले नहटाए आफैले डोजर चलाउने वाईसिएलको चेतावनी


     एभरेस्ट आवाज    
     असार ७ गते २०८० मा प्रकाशित




पोखरा, जेठ ७

योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले प्रमुख पर्यटकीय स्थल पोखराको फेवाताल अतिक्रमण गरेर बनाईएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई दुई महिनाको अल्टिमेटम दिएको छ । वाईसिएल कास्की संयोजक एंगेल्स कार्की र सचिव रामचन्द्र पौडेलले विहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न दिएको आदेशको स्वागत गर्दै सो आदेश कार्यान्वयन गर्न दुई महिनाको अल्टिमेटम दिएका हुन् ।

सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गर्नुका साथै फेवातालको जलाधार क्षेत्रमा रहेका अवैध संरचना हटाउन गत सोमबार आदेश दिएको थियो । सोहि आदेशलाई आधार बनाउँदै वाईसिएल कास्कीले सर्वोच्च अदालतको आदेश अनुसार २ महिना भित्र फेवाताल जलाधार क्षेत्रका अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई आग्रह गरेको हो । फेवाताल संरक्षणमा ढिलासुस्ती नगर्न र भुमाफियाको चंगुलमा नफस्न चेतावनी दिए वाईसिएल कास्कीले भनेको छ,‘ढिलासुस्ती एवम् भुमाफियाको जालोमा परेमा योङ कम्युनिष्ट लिग नेपाल कास्की डोजर लिएर अवैध संरचना हटाउन आम कास्कीबासीको साथ र सहयोगसहित अगाडि बढ्नेछ ।’

वाईसिएल कास्कीले यसअघि पोखरा महानगरपालिकाले फेवातालको संरक्षण गर्नुपर्नेमा उल्टै स्वार्थ समूहको चंगुलमा परेर तालको मापदण्ड घटाएकोप्रति आपत्ति जनाएको छ । यसअघि फेवाताल किनारमा पैदल मार्ग बाउन अग्रणी भूमिका खेलेको वाईसिएल कास्कीले आगामी दिनमा पनि सार्वजनिक सम्पतीको सुरक्षा र संरक्षण गर्न रचनात्मक भूमिका खेल्ने भन्दै सो कार्यमा साथ र सहयोग गरिदिन आम कास्केलीबासीमा अपिलसमेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।