सोसल पब्लिक स्कुलमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




पोखरा । पोखरा १० स्थित सोसल पब्लिक स्कुलमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सङ्गीत दिवस २०८० को उपलक्ष्यमा स्कुलले विशेष साङ्गीतिक कार्यक्रमका साथमा आधारभूत तह, कक्षा ६, ७ र ८ स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको हो ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर गुरुडको अध्यक्षतामा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा विद्यालयका कक्षा दुईदेखि दशसम्मका विद्यार्थीहरूले एकल एवम् सामूहिक गायन, नृत्य एवम् वाद्य वादनकला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित गायिका तथा विद्यालयका गायन शिक्षक रजनी ऋदम राई र विद्यालयका संस्थापक एवम् विज्ञान विषयका प्रमुख रोशन श्रेष्ठको बेजोड प्रस्तुति र शिक्षक गणेश लामाको हास्यव्यङ्ग्यात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो ।

विद्यालयका संस्थापक प्राचार्य सिद्धार्थ शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई थप उत्साह प्रदान गरेका थिए । यससँगै अध्यक्षको आसनबाट बोल्दै प्रबन्ध निर्देशक गुरुडले बाल बालिकाहरूभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि विद्यालयले शैक्षिक सहकार्यकलापलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

यसैबिच विद्यालयका सहकार्यकलाप विभागका संयोजक द्वय रमेशचन्द्र लम्साल र प्रदीप नेपालीको संयोजकत्वमा सम्पन्न भएको हिज्जे प्रतियोगितामा निलो र पहेँलो सदनका प्रतियोगीहरूले क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीहरू श्रेया गुरुङ, गरिमा शर्मा र अमन खड्काले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।