तेश्रो हिले महोत्सवको तयारी पुरा


     एभरेस्ट आवाज    
     असार १४ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखराको हेमजामा शुक्रबार हुन लागेको तेश्रो हिले महोत्सवको तयारी पूरा भएको छ ।

देवीस्थान सेवा समाजको आयोजनामा हुन शुक्रबार हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । शुक्रबार विहान १० बजे मिलनचोकबाट शोभायात्रा सहित स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा पुगी महोत्सवमा परिणत हुने आयोजकले जनाएको छ ।

‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुन लागेको महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ ।

कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवबाट हेमजा लगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।