अवरुद्ध नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि एकतर्फी सञ्चालन


     एभरेस्ट आवाज    
     असार १५ गते २०८० मा प्रकाशित




असार १५ चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड झण्डै २८ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीबार दिउँसो १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका– ५ तीनकिलोमा पहिरो खसेर अवरुद्ध भएको सडक आज साँझ ५ बजेबाट एकतर्फीरुपमा सञ्चालनमा आएको हो । एकतफी सडक सञ्चालनमा आएसँगै २८ घण्टादेखि विच बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

बिहीबार दिउँसो सडकमाथिको पहाड नै खसेर सडकमा बसेपछि अवरुद्ध भएको सडकमा बेलाबेला ठूला ढुङ्गासमेत खसिरहेकाले हटाउन कठिनाइ भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए ।

शुक्रबार साँझ ५ बजे पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सो सडकमा केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सो खण्डमा सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।

आज बिहान साढे ८ बजेदेखि दुवैतर्फबाट दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाएसँगै साँझबाट सडक एकतर्फी खुलेको हो । सुक्खा पहिरो निरन्तर खसिरहेकाले सडक दुईतर्फीनैसञ्चालनमा ल्याउन कठिनाई भइरहेको जनाइएको छ ।

एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङलले आग्रह गरे । उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत हुने गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।