वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल


     एभरेस्ट आवाज    
     असार १७ गते २०८० मा प्रकाशित




काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन्।

कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखेका हुन् ।

विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उहाँले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने बताए।

उनले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिष्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गरे ।

उनले समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरुआत भएको बताए । उनले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत बताए । सो अवसरमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भए पनि समाजादको स्थापना गरी जनताको जीवनलाई आमूल परिवर्तन गर्ने जिम्मेवारी बाँकी नै रहेको बताए ।

नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले देशमा वामपन्थीको ठूलो जनमत हुँदा पनि कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो बजेट लगानी गरेको बताउँदै प्रतिष्ठानको भवनमा स्वास्थ्य क्लिनिक र आयुर्वेदिक अस्पताल सञ्चालन गर्न नगरपालिका तयार रहेको बताए ।

प्रतिष्ठानका कोषाध्यक्ष सुशीला सुवेदीले नारायणविलास जोशीको भवन निर्माण र सालिक स्थापनामा स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न निकायबाट बजेटको व्यवस्थापन भएको बताए।

प्रतिष्ठानका अध्यक्ष एवं बागमती प्रदेशसभाका कृषि तथा पशुपक्षी विकास्मन्त्री डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्येका एक जोशीको योगदानलाई सधैँ जीवत राख्न प्र्रतिष्ठानले आफ्नै भवन निर्माण गर्दै प्रतिमा स्थापना गरेको बताए । उनको योगदानलाई कम्युनिष्ट पार्टीले बिर्सन नहुनेमा जोड दिँदै कम्युनिष्टलाई एकताबद्ध बनाउन सबै नेतृत्व लाग्नुपर्ने आँैल्याए ।

प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ९सांसद कोष०बाट रु ९५ लाख ६४ हजार सात सय ७८, चाँगुनारायण नगरपालिकाबाट २४ लाख १० हजार छ सय ६५, सूर्यविनायक नगरपालिकाबाट रु २२ लाख ६९ हजार एक सय ९४ प्राप्त भएको छ ।

साथै सार्वजनिक निर्माण कार्यान्वयन कार्यालय गजुरी, धादिङबाट रु ३५ लाख ९६ हजार चार सय, सहरी विकास तथा भवन कार्यालय कुलेश्वर, काठमाडौँबाट रु नौ लाख ८८ हजार एक सय ९८, संस्थाबाट योगदान रु ११ लाख र ऋण दायित्व रु ४५ लाख गरी कूल दुई करोड ४४ लाख २९ हजार दुई सय ३५ खर्च भएको प्रतिष्ठानका सचिव महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।