पोखरा, असार १९
पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो । चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन । सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो । अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ । यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होईन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला तान्नेदेखि पर्यटकलाई धकेलाधकेलसम्म गर्छन् भनेर स्वयम् सरोकारवालाहरुले बताएका छन् । त्यतिमात्र कहाँ हो र ? बसपार्क लागूऔषध दुव्र्यसनीको जक्सनसमेत बनेको उनीहरुको आरोप छ ।
पृथ्वी होटल व्यवसायी समिति पोखराले सोमबार पोखरामा आयोजना गरेको बृहद अन्र्तक्रिया कार्यममा बोल्ने वक्ताहरुले होटल व्यवसायी र ट्याक्सी चालकको व्यवहार लज्जास्पद भएको बताउ । हुँदाहुँदा पहिल्यै पोखरा आएर बसेका एक पुरुष पर्यटकले श्रीमतीलाई आफू बसेको होटलमा बोलाएको तर बसपार्कमा भएको तानातानमा परेर उनी अर्कै होटलमा पु¥याइएको घटनासमेत पर्दाफास भयो ।
एउटा पर्यटकलाई तीन तिरबाट तान्दा बसपार्कको मात्रै नभई समग्र पोखराको बेईज्जत भएको पोखरा बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापा बताउँछन् । ‘बसपार्क भित्र यात्रु चढाउने र झार्ने गरिर्दैन । बाटोमा उत्रिएको यात्रुलाई तीन तिरबाट तान्दा पोखराकै बेईज्जत भयो ।’ उनले ट्याक्सीले कमिसन खाएर बसपार्कमा उत्रिएका पर्यटकलाई जबरजस्ती लेकसाईड पु¥याउने गरेकोपनि आरोप लगाए ।
स्थानिय थकालीले सडकमा रोक्ने, त्यहिं यात्रु तान्ने छिनाझम्टीले बसपार्क रमिता स्थल भएको टिप्पणी गरे । ‘बसपार्कबाटै यात्रुलाई चढाउने र झार्ने गरियो भनेमात्र यस्तो प्रवृत्ति रोकिएला’–उनले भने ।
स्थानिय होटल व्यवसायी अरुण पाण्डेले ट्याक्सीको मनोमानीले यात्रु ठगिने गरेको बताए । त्यसमाथि कमिसनको चक्करमा ट्याक्सी चालकले यात्रुको ईच्छाविपरित लेकसाईड लैजाने गरेको उनको आरोप छ ।
पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष अमृत घिमिरे तानातानले यात्रुले हैरानी खेप्नुपरेको बताउँछन् । भन्छन्,‘यस्तो कृयाकलाप नियन्त्रण नगरे पोखराप्रति नै वितृष्णा जाग्छ ।’
लेकसाईडका केहि होटलहरुले अमरसिंहचोकबाटै गाडीलाई स्कर्टिङ गरेर यात्रुलाई झर्न नदिई लेकसाईड लैजाने गरेको अर्का व्यवसायी ईन्द्र मगर बताउँछन् । ‘यो त अति भो ! यो विकृति रोक्ने हो भने रोक्नुस्, होईन भने हामी आफै लखेट्छौं’–उनको चेतावनी थियो ।
अर्का व्यवसायी प्रल्हाद मरासिनी बसपार्क सुधार्न अर्को बालेन चाहिएको बताउँछन् । ‘यहाँको स्थानिय सरकार र छाता संस्था उद्योग वाणिज्य संघ त निदाएको छ, केहि थाहा पाउँदैन’–उनले भने ।
लेकसाईडका होटलहरुको साझा संस्था होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले स्कर्टिङ गर्ने र तानातान गर्नेलाई आफूहरुले संरक्षण नगर्ने बताए । ‘त्यस्तालाई कारवाही गर्नूस् सुरक्षाकर्मी साथीहरु, हामी त्यस्ताको संरक्षणमा लाग्दैनौं । भोलि पक्रेर लैजाँदा छुटाईदिनूस् भनेर प्रहरी कार्यालयमा मचाहिं आउँदिन’–उनले भने ।
उठेका विषयको जवाफ दिदै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बेथिती अन्त्यका लागि वडा गम्भीर रहेको बताए । तर त्यसका लागि स्वयम् व्यवसायी र स्थानिय सुध्रिनुपर्ने उनको भनाई छ । ‘एउटा संयन्त्र बनाएर एक्सनमा गयौं भने यो सबै नियन्त्रण गर्न सक्छौं’–उनले भने । बसपार्क पोखराको शान भएकाले यसलाई विकृतिमुक्त बनाउनु सबैको दायित्व भएको उनको भनाई थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद जोशीले विकृति अन्त्यका लागि व्यवसायी आफैले ‘मःमः’ भन्नुपर्ने बताए । उनले भने,‘हामीसँग नियम कानूनको खाँचो छैन, खाँचो छ त केवल ईच्छाशक्तिको मात्र ।’
जिल्ला ट्राफिक कार्यालय कास्कीका बरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले व्यवसायी लोभी हुँदा बसपार्कमा विकृति मौलाएको टिप्पणी गरे । ‘एक जना भएपनि बढी यात्रु लैजान्छु भनेर बसपार्कमा रोक्नुपर्ने गाडी मूल बाटोमै रोकिन्छ । अनि आफ्नो गन्तव्यमा गएका यात्रुलाई व्यवसायी र ट्याक्सी चालकले तानातान गरिन्छ’–उनले भने ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे, निवर्तमान अध्यक्ष हरिप्रसाद पाण्डे र पूर्व अध्यक्ष कमलप्रसाद न्यौपाने, महासचिव महेशबाबु ज्ञवालीलगायतले बसपार्क क्षेत्रमा देखिएको विकृति रोक्न समितिले पहलकदमी लिइएको बताए । ‘यसको अन्त्य जरुरी छ । यसका लागि हामी सबैले आवाज उठाऔं र हातेमालोपनि गरौं’–उनीहरुले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







