बद्लिदो समय परिवेश र मान्छेहरुको शहर मोहले ग्रामिण क्षेत्रमा प्राचिन शैलीका घरहरु रित्तिनु नेपालको अधिकाँश गाउँका समस्या साझा हुन् ।
मिठो र स्वादिलो खाना,सुकिलो पहिरनमा ठाटिन,सेवासुविधा उपभोग गर्न कसलाई चाहना हुदैन र तर पछिल्लो क्रममा यी र यस्ता सुविधा पाउन शहर पसेका मानिसहरु बाध्यताको उकुसमुकुसमा पिल्सिएका छन् ।
शहरमा परिवारको र आफ्नो पेट पाल्न गरिएका गतिविधिले हैरानी खेपिरहेका छन् । व्यस्त दैनिकीसंगै यो उकुसमुकुसबाट केहि समयका लागि भएपनि उम्किन धेरै उपायहरु अपनाउन थालेका छन् ।
त्यस उपाय मध्येपर्दछन गाउँघर पुग्ने,गाउँका अर्गानिक उत्पादनको स्वाद लिने,विभिन्न रमणीय स्थलहरु घुम्ने,प्रकृतिसंग रमाउने । गाँउघर घुम्न पुग्ने अधिकांश शहरिया मान्छेहरु पर्दछन् कि त विदेशी पाहुनाहरु । अहिले मान्छेहरु मानसिक स्वास्थ्य प्रति धेरै संवेदनशिल हुन थालेको पाउन सकिन्छ ।
सरकारले गाउँघरलाई घरबास बनाउने निति लिएपछि अहिले देशका केहि गाउँहरु ग्रामिण पर्यटनसंग जाडिएर घरबासमा परिणत भएका छन् । यो अभियानले एकातिर स्थानियको आयर्जनमा सहयोग पुगेको छ भने अर्काेतिर यस्तै घुमन्तेहरुको मानसिक उपचारमा पनि सहयोग पुगेको छ ।
पर्यटन क्षेत्रको नामले परिचित छ गण्डकी प्रदेश । गण्डकी प्रदेश भित्रका हरेक स्थान पर्यटकिय उच्च सम्भावनाका मोतिहरु हुन् । त्यस मध्ये पर्दछ नेपालको निकै सुन्दर शहर पोखरा । जुन शहर सुन्दर मात्रै छैन् व्यापारिक र व्यवसायिक शहरका रुपमा पनि उत्तिकै स्थापित छ ।

हावापानी र भुगोलको दृष्टिले मानव स्वास्थ्यको लागि उचित शहर भएकै कारण यहाँ पुर्वमेची देखि पश्चिम महाकाली सम्मका मान्छेहरु बसोबास गर्छन् । कोहि व्यवसाय गर्छन्,कोहि अध्ययनको शिलशिलामा छन्,कोहि आफ्नो भविश्यको सुन्दर मार्ग कोर्न यहि शहरलाई आधार बनाई केहि न केहि आफ्नो दैनिकीमा व्यस्त छन् ।
पोखरा आसपास विभिन्न स्थानमा यस्ता व्यस्त मानिसले मन भुलाउने स्थान छन् । जस मध्ये पर्दछ पोखरा महानगरपालिका भित्र पर्ने अर्मलाकोट गाउँ । २०७५ सालबाट अर्मलाकोट गाउँलाई होमस्टेको रुपमा सञ्चालन गरिएको छ ।

केआईसिहं पुल, बगरबाट करिब १२ कि.मी दुरीमा पोखरा महानगरपालिका वडा नं.१६ स्थित अर्मलाकोट पर्यटन प्रबर्द्धन सामूदायिक होमस्टे पर्दछ । यसलाई गुरूङ भाषामा “ड्होला नासा” पनि भनिन्छ ।

गाँउबाट उत्तरतर्फ माछापुच्छ्रे, धौलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरू र दक्षिण तर्फ सुन्दर नगरी पोखरा उपत्यकाको पुरै दृश्य अवलोकन गर्न सकिन्छ ।

अर्मलाकोटबाट च्होगो डाँडा हुदैँ महापुरूष डाँडा (२३० मि.) सम्म जाने करिब ७०० मि सिढी बाटो निर्माण गरिएको उक्त डाँडाबाट प्रकतिक मनमोहक दृश्यवालोकन र हिमश्रृङ्खलाहरू, सनराईज र सनसेटको अवलोकन, पोखरा नगरको सम्पूर्ण अवलोकनका साथै हिऊ पर्ने समयमा हिउँ खेल्न समेत सकिन्छ ।
गाउँमा २०७५ बाट १० घरमा होमस्टे सञ्चालन गरिएको छ । ्अर्गानिक खानेकुराहरूमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दुक, भट्टको अचार वर्षाको समयमा निउरों र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिन्छ ।

साँझ साँस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ ।



होमस्टेमा पुग्ने एकजना पाहुना बापत ११ सयका दरले दररेट निर्धारण गरिएको छ होमस्टेका अध्यक्ष बबिता गुरुङले बताउछिन् । उनका अनुसार ११ सयको प्याकेजमा विहानबेलुकी खाना र खाजासंगै सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।

गुरुङ,तामाङ,मगर,दलित लगाएत बाहुनक्षेत्रि समेत बसोबास रहेको अर्मला गाउँमा भने गुरुङ समुदायले मात्रै घरबास कार्यक्रम सञ्चालन गरेका छन् ।

धार्मिक दृष्टिकोणले कोट मन्दिरमा बडा दशै र चैत दशैको अवसर मा वली पुजा गरिन्छ । यस क्षेत्र वरपरको आस्थाको केन्द्रका रूपमा (म्वौधुँ) सिद्धथानमा प्रत्येक श्रीपञ्चमीमा पुजा आजा सहित ठुलो मेला लाग्दछ ।

यहाँ आउने पाहुनाहरूले गुरूङ सस्कृतिको भेषभुषा लगाएर फोटो खिच्न सकिन्छ । यहाँको कोसेलीको रूपमा मुलाको
चना, गुन्द्रुक तथा सिजन अनुसार सिस्नो, निउरो टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।


मेलापात र घरधन्दामै व्यस्त रहेको यहाँका स्थानियको जीवनशैली आफैमा मन्त्रमुग्ध छ ।



पोखरा महेन्द्रगुफा भन्दा करिब १० मि. अगाडी अर्मलाचोक घार्मीखोलाबाट नगरबस र जिप साँझ ४ बजे छुट्छ । महेन्द्रगुफा बाट करिब २ घण्टाको पैदल यात्राबाट पनि पुग्न सकिन्छ । अर्मला प्रकृतिक रुपमा धनि र सम्भावनायुक्त गाउँ भएतापनि बसाँईसराईले गाउँहरु भने रित्तिसकेका छन् ।

प्राचिन शैलीमा निर्मित घरहरु एक्लिएका छन् । त्यहाँ बसोबास गर्ने सिमित व्यक्तिहरुले मात्रै गाउँको विराशत धानिरहेका छन् , यसको थप पर्वद्धन र विस्तारका लागि होमस्टे सञ्चालन लगाएतका प्रयासबाट हरप्रर्यत्न गरेको पाउन सकिन्छ ।
अर्मलाकोट मात्र होईन नेपालका अधिकाँस गाउँहरु रित्तिदै गएका छन्,यस विषय स्थानिय युवापुस्ता र सरकारले विषेश चासो दिन आवश्यक छ । नत्र गाउँ गाउँ रहदैन, जनधनत्वले शहर भद्रगोल बन्न खतरा छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







