चितवन । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।
चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। आगामी साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना गर्ने गरी तयारी थालिएको उनले बताए। उनले भने, “मेलाको तयारीस्वरुप टोल सुधार संस्थाहरु, उत्पादनसँग जोडिएका सहकारीहरु, स्थानीय पालिकाहरु, कृषि ज्ञानकेन्द्र र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।”
मेलामा स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका कक्ष रहने उनले बताए। पहिलो दिन ५० सम्म कक्ष रहने छन् । प्रदर्शनीमा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकार, हस्तकलाका सामग्री, अण्डा, माछा तथा गेडागुडी, चिया, कफी, जुस, दुना टपरी जस्ता सामग्री र विभिन्न स्वदेशी परिकारका खानाका कक्ष रहनेछन् ।
व्यापारीक कक्षबापत एक दिनको रु एक हजार लाग्ने उनले बताए । मेला स्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाका लक्षित समुदाय रहेको उनको भनाइ छ । मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको छ ।
उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले खरिद गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ । मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







