सडकको स्तरोन्नतीका कारण सवारी दुर्घटनामा कमी


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित




चितवन । चितवन जिल्लामा सवारी दुर्घटना र मृत्युको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना र मृत्यु हुनेको सङ्ख्या घटेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन सय तीन दुर्घटना भएका छन् । त्यसमा ७८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा एक सय ७० गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यसै अवधिमा पाँच सय ३० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको थियो ।

त्यसमा दुई सय ६५ गम्भीर र सात सय छ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा ४० हजार छ सय ६४ सवारी साधन कारबाहीमा परेका छन् । ती बाट रु तीन करोड ४३ लाख ५८ हजार पाँच सय राजस्व उठेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ्ले दुर्घटना बढी हुने सडकको स्तरोन्नती भएको, कतिपय सडक निर्माणका कारण रोकिएकाले सावधानीपूर्वक अन्य सडकको प्रयोग हुँदा दुर्घटनामा कमी आएको र ट्राफिक प्रहरीको परिचालन र सक्रियता बढाइएको बताए ।

यसैगरी सवारी चालकको सचेतना बढेको र कोभिडपछि सवारी चाप घटेका कारण दुर्घटनामा कमी आएको उनको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।