नेपाली सेनाको बारेमा हल्का टिप्पणी नगर्न पूर्व सैनिक रावलको चेतावनी


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




पोखरा, साउन २

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपाल, पोखरा महानगर कमिटीका सचिव प्रविन रावलले नेपाली सेनाको बारेमा हल्का टिप्पणी नगर्न सचेत गराएका छन् । नेपाली सेनाको संख्या घटाउनेबारे संसदमा र सडकमा आवाज उठेपछि रावलले एक विज्ञप्ती जारी गर्दै ओजपूर्ण ईतिहास बोकेको नेपाली सेनाजस्तो जिम्मेवार संस्थाका बारेमा हल्का टिप्पणी गर्दा संस्था नै कमजोर हुनेतर्फ ध्यान दिन सचेत गराएका हुन् । नेपाली सेना ईतिहासको विभिन्न कालखण्डमा देशको सार्वभौम र स्वतन्त्र राज्यको पक्षमा सतीसालझैँ उभिएको छ,विज्ञप्तीमा भनिएको छ,‘यस किसिमको ओजपूर्ण ईतिहास बोकेको एक जिम्मेवार संस्थाको विषयमा विभिन्न राजनीतिक दलका जिम्मेवार नेताबाट आएका अस्वाभाविक र अनावश्यक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षाजस्तो संवेदनशील विषयमा यस किसिमको हल्का, गैरजिम्मेवार अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा आँच आउने हुँदा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिदा सोंचेर, अध्ययन गरेर र त्यसको संवेदनशीलतालाई मनन् गरेर अभिव्यक्ति दिन जरुरी छ ।’

पूर्व सैनिक तथा प्रहरी संगठनका सचिव रावलले फेरीपनि नेपाली सेनामाथि आँच आउने अभिव्यक्ति दिनेमाथि संगठन सोंच्न बाध्य हुने चेतावनी दिएका छन् । बरु सेनाको संस्थालाई थप बलियो र साधन श्रोत सम्पन्न बनाउनुपर्ने भन्दै उनले अगाडि भनेका छन्,‘त्यसरी सशक्त बनेको सेनालाई सुरक्षासहित राष्ट्र निर्माणमा अधिकतम परिचालन गर्नुपर्छ ।’ आवश्यक परे देशले खटाएमा भूतपूर्व सेना र प्रहरीपनि खटिन तयार रहेको उनको विज्ञप्तीमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।