कांग्रेस बैठकमा नेताहरुको धारणा राख्ने क्रम जारी


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलो पटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए । यसैगरी अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरे । सभापति देउवाले बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरे ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।