जिससले आफ्नै पैसा खर्च गर्न नपाउनु दुःखद : प्रमुख पौडेल


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित




साउन ५ पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेलले जिससले आफ्नै खर्च गर्न नपाउनु दुःखद भएको बताएका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा शुक्रबार पत्रकार भेटघाट गर्दै प्रमुख पौडेलले आफ्नै पैसा चलाउन नपाउने जिससले प्रदेश र संघको बजेटको आश गरेर बस्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् ।

जिससले आर्थिक वर्ष २०८०÷८१ का लागि संघ सरकारबाट २३ लाख र प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरिदिएको छ । तर जिसस कास्कीले अहिलेपनि कास्कीका विभिन्न ठाउँमा रहेका भवनहरुबाट वार्षिक १ करोड भन्दा बढी घरभाडा उठाउँछ भने जिससको जगेडा कोषमा अहिलेपनि ५ करोड जम्मा छ । तर त्यो रकम आफूले चलाउन भने पाउँदैन । घरभाडा वापत प्राप्त हुने सबै रकम संघ सरकारको खातामा हाल्नुपर्ने बाध्यता रहेको प्रमुख पौडेलले बताए । ‘आफ्नो स्वामित्वमा रहेको भवनबाट आएको आम्दानीसमेत चलाउन नपाउनु दुःखद हो’–उनले भने ।

जिससलाई अधिकारविहीन बनाएकोप्रति प्रमुख पौडेल असन्तुष्टि व्यक्त गर्छन् । जिससलाई बलियो बनाउने विषयमा संघ र प्रदेशले रुची नदेखाएकोप्रति आक्रोस व्यक्त गर्दै उनले भने,‘न काम गर्ने अधिकार दिइन्छ, नत बजेट नै दिईन्छ । कामविहीन कमजोर बनाइएको जिसस संघ र प्रदेशले पठाएको बजेटमा धिकिरधिकिर चल्नुपरेको छ ।’ प्रदेश नै जिससलाई कमजोर बनाउन लागिपरेको उनको आरोप छ । ‘जिससलाई अधिकार दिए आफू कमजोर हुने प्रदेशको सोंचाई छ । प्रदेश जिससलाई कामविहीन बनाएर निकम्मा सावित गर्न चाहन्छ’–उनले भने । समन्वय सहजीकरण ऐन बनाउन समितिले प्रदेशलाई स्थापना कालदेखि नै आग्रह गर्दै आएपनि बेवास्ता गरेको उनले आरोप लगाए ।

प्रमुख पौडेलले जिससलाई कमजोर बनाएर संघ, प्रदेश र स्थानिय तहले कनिका छरेझैँ गरेर पैसा बाँड्ने काम गरेको आरोपसमेत लगाएका छन् । ‘हुँदाहुँदा वडासम्मले पैसा बाँड्छ तर जिससलाई भने बजेट नदिई कमजोर बनाईरहेका छन्’–उनले भने । जिससले कम्तिमा पनि आफ्नो आम्दानी आफैले चलाउन पाउनुपर्ने उनको जिकीर छ । त्यस्तै, ५० लाखभन्दा माथिका योजना फरफारक गर्ने अधिकार जिससलाई दिनुपर्ने उनको माग छ ।

प्रमुख पौडेलले संविधान बनाउनेहरुले नै जिससलाई अहिले आएर हेला गर्नेगरेको गुनासो गरे । ‘संविधानमै जिससको संरचना भएपछि त्यो संविधान कार्यान्वयन गर्ने जिम्मापनि उहाँहरुकै हो’–उनले भने । अहिले प्रदेशमाथि प्रश्न उठ्दा सबैले बोलिरहेको भन्दै त्यसैगरी जिससको पक्षमा पनि बोल्नुपर्ने उनको भनाई छ । जिससलाई बलियो बनाए संघीयतापनि बलियो हुने उनले तर्क गरे ।

प्रमुख पौडेलले जिससलाई अनुगमन गर्ने अधिकार दिइएपनि गुणस्तर जाँच गर्न ल्याव, प्राविधिक भने नदिइएको गुनासो गरे । अनुगमन गरेर प्रतिवेदन बुझाइएपनि कार्यान्वयन नहुँदा जिससलाई कसैलेपनि नटेरेको भान हुने गरेको उनले बताए ।

पौडेलले आफू निर्वाचित भएर आएपछिको एक वर्षमा चौध वटा बैठक बस्नुका साथै नेपालमै पहिलोपटक विभिन्न विषयगत कार्यालयको अर्ध बार्षिक समीक्षा गरिएको जानकारी दिए ।

त्यस्तै जिसससहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरुका लागि क्षमता अभिबृद्दि तालिम सञ्चालन गरेको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको, गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमनसहित समन्वयात्मक बैठक बसेकोपनि उल्लेख गरे । उनले आफ्नो एक वर्षे कार्यकालमा असल सिकाइ अभ्यास कार्यक्रम, नदी तथा खानीजन्य पदार्थ उत्खनन, बिक्री वितरण र क्रसर सञ्चालन कार्यविधी र समन्वय कार्यविधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित गराई कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।