काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन् ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे ।
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए ।
खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।”
प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे । उनले त्यस्तो रुपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराए । स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







