पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।

ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत आजै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

एलेक्जेन्डरले पुरानो समय ५२ दशमलव ९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२ दशमलव ९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका छन् । उनले हालै सम्पन्न ११ औँ एनएसए कप च्याम्पियनसिपमा ५२ दशमलव ९६ सेकेन्ड समयको कीर्तिमान राखे का थिए ।

अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । भोलि बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।